काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५० लघुवित्त कम्पनीमध्ये हालसम्म चारओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
यीमध्ये गुराँस लघुवित्त, आशा लघुवित्त र फरवार्ड लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश दिएका थिएनन् । स्वाबलम्बन लघुवित्तले भने अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस आधारमा गत वर्षको तुलनामा यस वर्ष कम्पनीले लाभांश दर केही बढाएको छ । यस कम्पनीले आव २०८०/८१ सम्मको मुनाफाबाट यस वर्ष १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २९ गते साधारण सभा बोलाएको छ । सभा धनकुटाको धनकुटा नगरपालिका-१, हिलेस्थित होटल कान्जिरोवामा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन् ।
त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी, फरवार्ड लघुवित्तले १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।