काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले चैत २० गतेदेखि १७५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । फागुन २२ गतेसम्म कायम संस्थापक शेयरधनीहरूका लागि कम्पनीले हाल कायम चुक्तापूँजीका आधारमा १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।
सम्बन्धित शेयरधनीहरूले वैशाख २४ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । सिद्धार्थ केवलकारको बुटवल कार्यालयमा हकप्रद शेयर खरीद आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ । कम्पनीको नाममा एनएमबि बैंकको बुटवल शाखामा रहेको खाता नम्बर ००५०१४३१४८९००१५५ मा रकम जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
यस कम्पनीले शेयरधनीहरूको आग्रहमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ हजार कित्ता साबिक कायम भएको शेयरलाई प्रतिकित्ता ५० रुपैयाँ कायम गरी २ हजार कित्ता बनाएको छ । साबिक १ हजार कित्ता शेयर हुने शेयरधनीहरूले अब नयाँ हकप्रद शेयर भर्दा ५० रुपैयाँका दरले ३ हजार ५०० कित्ताका लागि आवेदन पेश गर्नुपर्ने भनाइ कम्पनीको छ ।