काठमाडौं । गत साताको अविरल वर्षाका कारण आएको बाढीपहिरोले चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवागढीनजिकका पुल र सडक भत्काएपछि दुवै नाकाबाट हुने व्यापार ठप्प भएको छ । दशैंअघि नै दुवै नाका खुलाउने प्रयास असम्भव हुँदै गएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
तातोपानी भन्सारको मुख्य कार्यालय जोड्ने भोटेकोशी नदीमाथिको पुल र लिपिङ खोलाको पुल नै बाढी पहिरोले बगाइदिएकाले दशैंअघि बाटो खुलाउने प्रयास असफल हुने भएको हो । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले नदी र खोलामा पानीको बहाव घटेसँगै पुल बगेको स्थानमा ह्युमपाइप र काठ राखेर साना गाडी र मान्छे हिँड्न सकिने कामचलाउ बाटो बनाइएको बताए ।
‘भन्सार र सीमाबीचको भागमा दुई/तीन ठाउँमा ठूलो पहिरो गएर मुख्य सडक नै बगाएका कारण चीनतर्फ रोकिएका ६४ ओटा कन्टेनर वारि आउन सकेका छैनन् । नेपालतर्फ पनि सातओटा कन्टेनर रोकिएका छन्,’ तातोपानी भन्सारका सूचना अधिकारी काफ्लेले आर्थिक अभियानसँग भने । ‘प्रशासन र स्थानीय जनप्रतिनिधिहरूको पहलमा नाका खुलाउने प्रयास भए पनि पुल नै बाढीले बगाएकाले दशैंअघि नै नाका खुल्ने सम्भावना छैन ।’
- बाढीपहिरोले पुल नै बगाएकाले दशैंअघि नाका नखुल्ने
- दशैं र जाडोका सामान बोकेका ७१ कन्टेनर चीन र तातोपानी भन्सारनिरै अड्किए
- दशैंका लागि काठमाडौं ल्याउन लागिएका २०० च्याङ्ग्रा केरुङमै अलपत्र
रोकिएका कन्टेनरहरूले दशैं र तिहारका लागि आवश्यक पर्ने फलफूल र लसुनसँगै जाडोका लत्ताकपडा बोकेका छन् । दशैंअघि बाटो नखुल्ने भएपछि करोडौं खर्च गरेर ल्याएका फलफूल सबै बिग्रिने चिन्तामा व्यवसायी छन् । कोल्ड स्टोरमा राखेको फलफूललगायत खाद्यवस्तु चीनमा लोड गरिएको ८ देखि १० दिनमा तातोपानी र रसुवागढी भन्सार भएर काठमाडौं भित्रने गरेका छन् । उक्त समयमा भित्रन नसके गुम्सिएर कुहिने र सड्ने व्यवयासीको भनाइ छ ।
रसुवागढी भन्सार पनि दशैंअघि खुल्ने सम्भावना नरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । भन्सार अधिकृतबाट आफूले पाएको जानकारीअनुसार चीनतर्फ तीन/चार ठाउँमा ठूलाठूला पहिरो गएकाले बाटो बन्न अझै १ महीना लाग्न सक्ने उनले बताए ।पौडेलका अनुसार नेपालतर्फ अहिले बाटोको अवस्था जोखिममुक्त छैन । नेपालतर्फ अहिले ६ ओटा कन्टेनर रोकिएका छन् र त्यसमा भएको सामान पास गर्ने काम भइरहेको छ ।
‘दशैंका लागि च्याङ्ग्रा ल्याउन चीन गएका सात जना व्यवसायी उतै रोकिएका छन् । उनीहरूले २०० को संख्यामा च्याङ्ग्रा ल्याएको सूचना प्राप्त भएको छ । हामीले उनीहरूलाई यतैबाट खाना र पानी पुर्याइरहेका छौं । बाटो बिग्रिएकाले च्याङ्ग्रा हिँडाएर ल्याउन सक्ने अवस्था पनि नरहेकाले उतै रोक्नुपरेको हो,’ पौडेलले भने ।
उत्तरी नाकाबाट विशेषगरी स्याउ, लसुन, लत्ताकपडा, विद्युतीय सामान र रासायनिक मलजस्ता वस्तु आयात हुन्छ भने तामाका भाँडा, जडीबुटी, मैदा, घ्यू, हस्तकलाका सामान, याकलाई खुवाउने घाँस, चाउचाउ, अण्डालगायत वस्तु निर्यात हुन्छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो २ महीनामा यी दुई नाकाबाट २० अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । १७ करोड ७५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । विगतमा २०७२ सालमा भुइँचालो जाँदा र कोरोना महामारीपछि लामो समयसम्म यी नाकाबाट हुने दुईपक्षीय व्यापार प्रभावित भएको थियो ।