काठमाडौं । शुक्रवार चार कम्पनीको साधारण सभा हुँदै छ । चिलिमे जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सभा आयोजना गरेका हुन् ।
चिलिमे जलविद्युत कम्पनीले २६औं वार्षिक साधारण सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा उक्त दिन बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा मङ्सिर २९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन् ।
नेपाल इन्स्योरेन्स कम्पनीले ७४औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम राख्ने, आव २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने÷गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिको पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ८ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस ७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांशको प्राप्तिका लागि योग्य छन् ।
बिन्ध्यबासिनी हाइड्रोपावर लिमिटेडले छैटौं वार्षिक साधारण सभा कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।
सभाले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव शून्य २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरिसकेको छ ।
यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् । कम्पनीले पहिलोपटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।
युनियन हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा सिद्धार्थ कटेज ललितपुर, धोबीघाटमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गराएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरूमात्र सभामा भाग लिन योग्य छन् ।