चितवनमा साल्ट ट्रेडिङको चाडबाड लक्षित सहुलियत पसल सञ्चालन
चितवन । जिल्लामा चाडबाड लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ । उपभोक्तालाई दैनिक उपभोग्य सामाग्री सहुलियत रूपले विक्री वितरण गर्ने उद्देश्य सहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढबाट यो सेवा शुरु गरिएको हो । पसलको उद्घाटन जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरे ।
उद्घाटन पछि प्रतिक्रिया दिदै प्रजिअ यादवले बजारमा कालोबजारी तथा कृतिम अभाव रोक्न सहुलियत पसलले मदत पुर्याउने बताए । ‘विशेषगरी सर्वसाधारणले सुलभ मूल्यमा सामाग्री प्राप्त गर्नुहुन्छ , उनले भने , यसले सर्वसाधारणलाई राहत पनि हुन्छ । कालोबजारी र कृतिम अभाव पनि रोकिन्छ ।’
उनले आम उपभोक्तालाई साल्ट ट्रेडिङबाट किन्दा सही मूल्य हुने र मिसाबट नहुने हुँदा यहीँबाट किन्न आग्रह गरे ।
कर्पोरेशनका नारायणगढ प्रमुख बुद्धि विनोद दाहालले चाडबाडबाट लक्षित सहुलियत पसल आजबाट सञ्चालनमा आएको जानकारी दिए । आम उपभोक्तालाई सहज र सहुलियत रुपले दैनिक उपभोग्य सामान पाउन भन्ने उद्देश्यले अघिल्ला बर्षजस्तै यस वर्षपनि सहुलियत पसल सञ्चालनमा ल्याइएको प्रमुख दाहालले बताए । ‘चाडबाट लक्षित सहुलियत पसल आजबाट सञ्चालनमा आएको छ, उनले भने, हामीसँग छठसम्मलाई पुग्ने सामाग्री मौज्दात छ ।’
‘बजारमा यस्ता दैनिक उपभोग्य सामानको कृतिम अभाव र कालोबजारी नहोस् भन्ने हेतुले पनि सहुलियत पसल सञ्चालनमा ल्याइएको हो । अर्को कुरा सहुलियत मूल्यको लाभ सबैले लिन पाउन भन्नु पनि हो ।’ प्रमुख दाहालले भने ।
सहुलियत पसल बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म चल्नेछ । पसल दशैं अघि असोज २२ गतेसम्म सञ्चालन हुने र दशैँपछि पनि निरन्तरता हुने उनले जानकारी दिए । दाहालका अनुसार सहुलियत पसलमा चिनी प्रतिकेजी, सय रुपैयाँको नुन प्रति प्याकेट २४ रुपैयाँ मूल्य कायम गरिएको छ भने, अन्य खाद्य सामाग्री चामल, दाल, खानेतेल, चिउराको मूल्यमा पनि बजारभाउ भन्दा कम मूल्यमा विक्री भइरहेको छ ।
चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो ।