काठमाडौं । सन् २०२० मा भारत र चीनका सैनिकबीच विवादित भूभाग गलवानमा भिडन्त भएपछि बिग्रेको सम्बन्ध सुधार्न दुई देशबीच यसै हप्ता बेइजिङमा ६ बुँदे सम्झौता भयो । उक्त सम्झौताका क्रममा ४ वर्षदेखि स्थगित कैलाश मानसरोवर यात्रा सहज बनाउने कुरामा पनि सकारात्मक छलफल भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
कैलाशमा भगवान शिव बस्ने धार्मिक मान्यता रहेकाले यसलाई हिन्दुहरूको पवित्रस्थल मानिन्छ । हिन्दु मात्र होइन बौद्धमार्गी, जैन र बोनमार्गीले पनि कैलाशलाई पवित्रस्थल मान्छन् । कैलाश मानसरोवर यात्रा गराइरहेका नेपालका ट्राभल एजेन्सीहरू पनि कहिले भारतीय पर्यटक कैलाश मानसरोवर जान पाउँछन् भन्ने पर्खाइमा छन् । ठूलो संख्यामा भारतीय पर्यटक नेपाल हुँदै चीनको तिब्बतमा रहेको कैलाश यात्रामा जाने हुँदा नेपालको पर्यटन उद्योगलाई यसबाट ठूलो सहयोग हुँदै आएको थियो ।
कैलाश मानसरोवर भारतीयका लागि चीनले खुला नगर्दा होटेलदेखि अन्य व्यवसाय समस्यामा परेको काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले बताए । भारतीयहरू बढी बस्ने होटेलहरूको अकुपेन्सी तथा व्यवसाय घट्नेलगायत यातायातसम्म असर परेको उनी बताउँछन् । ‘कैलाश मानसरोवर जानेमध्ये ४० प्रतिशत भारतीयले नेपालमै समय खर्चिन्छन्,’ उनले भने, ‘यसले हुम्ला, हिल्सा, रसुवागढीलगायतमा खुलेका होटेल राम्रैसँग चल्ने गर्छन् ।’
- सन् २०२५ को भ्रमणका लागि बुकिङ शुरू
- नेपाली बढ्दै, भारतीयका लागि अझै बुकिङ खुलेन
- भारत र चीनबीचको पछिल्लो सहमतिले भारतका लागि पनि कैलाश मानसरोवर खुल्ने आशा
- ठूलो संख्यामा भारतीय नेपाल हुँदै कैलाश जाने परम्परा
नेपालबाट कैलाश मानसरोवर जान तीनओटा रूट बढी प्रचलनमा छन् । एउटा नेपालगञ्ज हुँदै हुम्ला–सिमिकोट हुँदै जाने रूट हो । भारतीयका लागि कैलाश मानसरोवर प्रवेश खुला हुँदा नेपालगञ्जका होटलहरूले राम्रो व्यवसाय पाएका थिए । नेपालगञ्जबाट हेलिकोप्टरमा हुम्लाको हिल्सा जाने र त्यहाँबाट कैलाश पुग्ने गरी भारतीयहरू जाने गर्छन् ।
दोस्रो रूट रसुवागढी नाका हो । कैलाश मानसरोवर जानका लागि नेपाल आउनेमध्ये ५० प्रतिशतले यो रूट प्रयोग गर्ने व्यवसायी बताउँछन् । तेस्रो भनेको ल्हासामा जहाजमा गई मानसरोवर पुग्ने हो ।
कैलाश दर्शनमा जाने पर्यटकलाई लक्ष्य गरेर नेपालगञ्ज, हुम्ला, हिल्सा, रसुवागढीमा पर्यटकीय स्तरका होटेल खुलेका छन् । अहिले विदेशी र नेपालीहरू गइरहेका छन् । कोरोना महामारी शुरू हुनुअघि कैलाश मानसरोवर यात्राका लागि हरेक सिजनमा आउने भारतीयको संख्या क्रमश: बढिरहेको थियो ।
सन् २०१९ मा १८ हजारभन्दा बढी भारतीय धार्मिक पर्यटक नेपाल हुँदै कैलाश मानसरोवर गएको व्यवसायी बताउँछन् । भारतीयका लागि कैलाश प्रवेश निषेध हुँदा गत जनवरीमा श्री एयरलाइन्सले भारतको टेम्पल टप ग्रूप, सिद्धार्थ होलिडेज ग्रूप, नेपालगञ्ज र पाथिल होलिडेजसँग मिलेर कैलाश मानसरोवरको माउन्टेन फ्लाइट गराउने प्याकेज ल्याएको थियो ।
सन् २०२५ को सिजनमा भारतीयलाई दर्शन खुला भए २५ हजारभन्दा बढी भारतीय पर्यटक नेपाल हुँदै कैलाश जाने निश्चित रहेको व्यवसायी बताउँछन् । भारतीयलाई कैलाश मानसरोवर खुला नभए पनि नेपाली र अन्य देशका नागरिकका लागि भने चीनले खुला नै राखेको छ । केही वर्षयता नेपालीहरू पनि ठूलो संख्यामा जान थालेको पर्यटन व्यवसायीको भनाइ छ । ट्राभल एजेन्सीहरूले सन् २०२५ को लागि धार्मिक पर्यटकको बुकिङ शुरू गरिसकेका छन् ।
सन् २०२५ का लागि ट्राभल्स कम्पनीहरूले बुकिङ खुला गरिसकेका छन् । उक्त क्षेत्र केन्द्रित रहेर टुर एन्ड ट्राभल्स व्यवसाय सञ्चालन गर्दै आएका समग्र कम्पनीहरूले अहिले २ हजार ५०० जनाभन्दा बढीको बुकिङ गरिसकेको फिस्टेल टुर्स एन्ड ट्राभल प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पोखरेलले बताए ।
कैलाश मानसरोवर यात्राको व्यवस्थापन गर्दै आएको उक्त कम्पनीका अनुसार सन् २०२४ को सिजनमा भारतीय गैरआवासीय नागरिकको बाहुल्य रहेका अमेरिका, बेलायत, मलेशिया, सिंगापुरबाट उल्लेख्य संख्यामा कैलाश यात्राका लागि पर्यटक आएका थिए ।
उनी भारतीयहरूका लागि कैलाश मानसरोवर खुला भयो भनेर औपचारिक जानकारी आइनसकेको बताउँछन् । तिब्बत सरकारले सिजन आउनासाथ नेपालका कम्पनीलाई जानकारी दिने गरेकोमा यसपटक अहिलेसम्म जानकारी नगराएको उनले बताए ।
सन् २०२५ को सिजनका लागि अझै समय रहेको भन्दै उनले भारतीयका लागि पनि कैलाश खुला गर्नेमा आशावादी रहेको उल्लेख गरे । ‘जब तिब्बत तथा चीनको सम्बद्ध निकायले भारतीयको कैलाश यात्रा खुला गर्छ, तब मात्रै भारतीय श्रद्धालुका लागि बुकिङ खुला गरिनेछ,’ पोखरेलले भने, ‘भारतीयका लागि खुला नहुँदासम्म उनीहरूलाई लक्षित गरेर बुकिङ खुला गर्दैनौं, किनभने बुकिङ खुला हुने आशामा विगत वर्षहरूमा भारतीयका लागि बुकिङ तथा प्याकेज बनाइएको थियो । तर, कैलाश उनीहरूका लागि खुला भएन ।’ यसले गर्दा सन् २०२५ को कैलाश मानसरोवर यात्रा गराउन भारतीयको बुकिङ खुला नगरिएको उनको भनाइ छ ।