विराटनगर । गतवर्षको साउनदेखि चियाको निकासी घटेपछि निराश बनेका किसान तथा निर्यातकर्ता यस वर्षको शुरूका दुई महीना लगातार निर्यात बढेपछि उत्साहित बनेका छन् । गतवर्षको साउन र भदौमा भएको चियाको निकासीभन्दा यस वर्षको सोही अवधिमा ५२ प्रतिशतले बढेपछि किसान र निर्यातकर्ता उत्साहित भएका हुन् ।
भारतका दार्जिलिङ र आसाममा खडेरीका कारण चियाको उत्पादन घटेपछि नेपाली चियाको माग बढेको हो, जसकारण निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।
मेची भन्सार कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो दुई महीनामा काँकरभिट्टा नाकाबाट १ अर्ब १३ करोड ३४ लाख रुपैयाँ मूल्य बराबरको ४ हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा २ हजार ९०२ टन चिया निर्यात भएको थियो ।
चिया उत्पादक संघका अध्यक्ष पराजुलीका अनुसार भारतमा यस वर्ष चिया उत्पादन १० करोड किलोग्रामभन्दा बढी घटेको छ । परिणामस्वरूप नेपाली चियाको माग भारतीय बजारमा बढेको छ । तर, नेपालमा पनि खडेरीका कारण उत्पादन घटेकाले भारतीय माग पूरा गर्न चुनौती छ ।
गतवर्ष नेपालमा २ करोड २५ लाख किलोग्राम चिया उत्पादन भएको थियो । यस वर्ष खडेरीका कारण उत्पादन ५० लाख किलोग्रामले घटेर १ करोड ७५ लाख किलोग्राममा सीमित भएको छ । तर, मूल्यवृद्धि र भारतीय बजारमा बढेको मागले किसानलाई राहत मिलेको छ ।
गतवर्ष नेपाली चियाको मूल्य प्रतिकिलोग्राम ९० देखि १०० रुपैयाँसम्म थियो । यस वर्ष बढेर १८० रुपैयाँसम्म पुगेको छ । यसले गर्दा उत्पादनमा कमी आए पनि किसानको आम्दानीमा सुधार आएको छ । हल्दीबारीका किसान पर्वत डाँगीले यसपटक चियाले राम्रो मूल्य पाएकाले आफूहरू उत्साहित भएको बताए ।
गतवर्ष सीटीसी चिया तयार गरेर पनि गोदाममा धन्क्याएर बस्नुपरेको सम्झदै उनले भने, ‘यसपालि माग बढी भएसँगै चिया राम्ररी विक्री भइरहेको छ । गतवर्ष भारतीय व्यापारी आएर किलोको ६०–७० रुपैयाँमा चिया मागेका थिए । तर यसपटक मूल्य बढेकाले खुशी छौं ।’ नेपालमा उत्पादित चियाको ९९ प्रतिशत निर्यात हुने गर्दछ । भारत, अमेरिका, जापान र चीन नेपाली चियाका प्रमुख निकासी गन्तव्य हुन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । देशभर ६८ ओटा ठूला चिया उद्योग, ९३० ओटा अर्थाेडक्स, ३८ ओटा सीटीसी र १५० भन्दा बढी साना अर्थाेडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् ।
चिया व्यवसायीका अनुसार गुणस्तर बढाउन सके चियाखेतीलाई दिगो र उच्च आम्दानीको स्रोतको रूपमा विकास गर्न सकिन्छ । गुणस्तरमा सुधार ल्याएर नेपाली चियालाई भारतीय बजारको मात्र भर नपरी तेस्रो मुलुकमा समेत उच्च मूल्यमा निर्यात गर्न सकिने सम्भावना छ ।
कोशी प्रदेश नेपालको प्रमुख कृषि उत्पादन क्षेत्र हो, जहाँ चियासहित अन्य कृषिउपज व्यावसायिक रूपमा उत्पादन गरिन्छ । यस प्रदेशले नेपालबाट हुने अलैंचीको निर्यातमा ९० प्रतिशत, चिया निर्यातमा ९९ प्रतिशत र अदुवा निर्यातमा ३३ प्रतिशत योगदान दिन्छ ।
नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष तथा चिया उद्योगी सुरेश मित्तलले चिया उत्पादन र निर्यातमा देखिएको सकारात्मक प्रवृत्तिले नेपालको कृषि क्षेत्रको विकास र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । तर, जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र मौसमी अनिश्चितताले चिया उत्पादनमा चुनौती थप्न सक्ने भएकाले यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले औंल्याए ।
मित्तलका अनुसार नेपाली चियाको गुणस्तर र ब्रान्डिङमा थप लगानी गर्दै वैश्विक बजारमा यसको स्थान सुदृढ गर्न सके चिया क्षेत्रले नेपालको अर्थतन्त्रमा थप योगदान दिन सक्छ । ‘यसका लागि सरकार, निजी क्षेत्र र किसानबीच समन्वय र सहकार्य आवश्यक छ,’ उनले भने ।