क्वेटा (पाकिस्तान) । पाकिस्तानको कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र अन्य राजनीतिक दलका सदस्यहरूले गत साताको निर्वाचनमा कथित धाँधलीको विरोधमा सोमवार अस्थिर दक्षिण–पश्चिममा प्रमुख राजमार्गहरू अवरुद्ध गरेका छन् ।
आइतवार प्रकाशित अन्तिम नतिजाअनुसार करीब दुई वर्षअघि खानलाई सत्ताबाट हटाउने राजनीतिक दलहरूको तुलनामा उनले समर्थन गरेका उम्मेदवारहरूले धेरै सिट जितेका छन् । यद्यपि कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त नभएकाले गठबन्धन सरकार बनाउन दलहरूले वार्ता गर्नुपर्ने भएको छ । नयाँ संसद्ले मुलुकको नयाँ प्रधानमन्त्री चयन गर्नेछ ।
नयाँ संसद् चयन गर्न बिहीवार सम्पन्न निर्वाचनमा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीलाई मतदानबाट गरिएको बहिष्कारले ओझेलमा पारेको थियो ।
निर्वाचन जित्नेहरूले विजयको उत्सव मनाइरहँदा पीटीआई र अन्य दलहरूले दर्जनौं निर्वाचन क्षेत्रमा आफ्नो हार अस्वीकार गरेका छन् । कथित मतदान धाँधलीको विरोध गरिरहेका खानका दर्जनौं समर्थकलाई सप्ताहन्तमा पूर्वी सहर लाहोरमा केही समयका लागि हिरासतमा लिइएको थियो ।
बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तमा एक सरकारी प्रवक्ता जान अचकजाईले प्रदर्शनकारीलाई हार स्वीकार गरेर राजमार्गहरूबाट टाढा गएर ‘कृपा देखाउन’ आग्रह गरे । आपराधिक सजायका कारण खानले निर्वाचन लड्न पाएनन् । उनले यसलाई राजनीतिकरूपमा प्रेरित भनेका छन् ।
खानसँग गठबन्धन गर्ने उम्मेदवारहरूले राष्ट्रियसभा अर्थात संसद्को तल्लो सदनमा २६६ सिटमध्ये १०१ सिटमा जित हासिल गरेका छन् । तीन पटकका प्रधानमन्त्री तथा पूर्वअपराधी नवाज शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन)ले ७५ सिटमा विजयी भएको छ । शरिफले अहिले गठबन्धन सरकार बनाउनका लागि सहयोगीसँग वार्ता गरिरहेका छन् ।
बिलावल भुट्टो–जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ५४ सिटका साथ तेस्रो स्थानमा छ । एक उम्मेदवारको मृत्युका कारण एउटा परिणाम रोकिएको छ भने अर्कोमा मतदान स्थगित गरिएको छ । सन् २०२२ मा खानलाई पदबाट हटाउने अभियानको नेतृत्व पीएमएल–एन र पीपीपीले गरेका थिए ।
पाकिस्तानको सेनाले सधैं आफूलाई प्रधानमन्त्री बनाउने अन्तिम मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको छ । गत अक्टोबरमा मुलुकमा सहज फिर्ताका कारण शरिफलाई शक्तिशाली सुरक्षा प्रतिष्ठान (सेना)को मनपर्ने उम्मेदवारका रूपमा हेरिएको थियो ।
कारागार सजाय भोग्नबाट बच्नका लागि शरिफले चार वर्ष निर्वासनमा बिताएका थिए । तर, पाकिस्तान पुगेको केही साताभित्रै उनको सजायलाई उल्ट्याइएको छ । रासस/एपी