चितवन। मोटर टुरिज्मको प्रवर्द्धन गर्न देवघाट–हलेसी सगरमाथा मोटर र्याली शुरू भएको छ । नेपाल अटोमोबाइल एसोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)द्वारा संयुक्त रूपमा मोटर र्यालीको बुधवारदेखि शुरुआत गरिएको हो । र्याली दुई रात, तीन दिनको हुनेछ ।
र्यालीको उद्घाटन गर्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यस्ता खालका र्याली महत्त्वपूर्ण रहने बताए । उनले भने, ‘देवघाट–हलेसी सगरमाथाजस्ता अतिपवित्र क्षेत्रको विकास र प्रवर्द्धन गर्न र त्रिकोणात्मक पर्यटन ट्र्याक निर्माण गर्न र्याली फलदायी हुनेछ ।’
भरतपुर देवघाटदेखि शुरू भएको र्याली हेटौंडा, सिन्धुलीको खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करीब तीन सय २७ किमी ट्र्याकमा सेल्फी टिडिएस र्याली प्रतियोगिता हुने नासा नेपाल बागमती प्रदेश संघ तथा काडा चितवनका अध्यक्ष राजन पियाले जानकारी दिए । प्रतियोगितामा ३० ओटा गाडी सहभागी छन् । आयोजकले खोटाङको हर्कपुर सुनकोशीको किनारमा अटो जिमखाना प्रतियोगिता सञ्चालन गर्ने तयारीसमेत गरेको बताइएको छ ।