काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज (बुधवार) सम्पन्न पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम फाइनल प्रवेश गरेको हो ।
अब सुदूरपश्चिमले दोस्रो क्वालिफायरको विजेतासँग आगामी शनिवार फाइनल खेल्नेछ । दोस्रो क्वालिफायरमा भोलि (बिहीवार) पहिलो क्वालिफायरको पराजित टोली जनकपुर बोल्ट्स र इलिमिनेटरको विजेता टोली कर्णाली याक्स प्रतिस्पर्धा गर्नेछन् ।
आज बिहान भएको इलिमिनेटरमा कर्णालीले चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।
आज भएको पहिलो क्वालिफायरमा १४० रनको लक्ष्य पाएको सुदूरपश्चिमले १८.३ ओभरमा जित निकाल्यो । टिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रन बनाए । यस्तै, शैफ जैबले ३२ र ब्रान्डन म्याकमुलेनले २५ रनको योगदान दिए । कप्तान दीपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहे ।
बलिङतर्फ जनकपुरका किशोर महतो र ललित राजवंशीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन जोडेको थियो । टिमका लागि सर्वाधिक रन बनाएका जेम्स निशमले आक्रामक ब्याटिङ गर्दै २३ बलमा ४५ रन जोडे । यस्तै, शुभ कंशाकारले २६ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । यस्तै, शैफ जैबले २ र अविनाश बोहरा र स्कट कुग्गेलेजिनले १–१ विकेट लिए ।
जारी एनपीएलमा जनकपुर सुदूरपश्चिमसँग दोस्रोपल्ट पराजित भएको हो ।