विराटनगर । विराटनगर महानगरपालिकाले वैदेशिक रोजगारीमा पलायनलाई रोक्न र स्थानीय बेरोजगार युवालाई रोजगारीको अवसर दिलाउने उद्देश्यले आयोजना गरेको दुईदिने महानगर रोजगार मेलामा ३ हजार ५ सय जनाले अवलोकन गरेका छन् । सोमवार शुरु भएको रोजगार मेला मंगलवार सकिएको हो ।
मेलामा उद्योग, व्यापार, स्वास्थ्य संस्था, शिक्षण संस्था, होटल र रेस्टुरेन्टहरूबाट ३१९ जना रोजगारीको माग गरेका थिए । त्यसैगरी १६१ जनालाई अन्तर्वार्ताका लागि सम्बन्धित संस्थामा पठाइएको रोजगार सेवा केन्द्रका प्रमुख इन्जिनियर कपिल थापाले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा स्टाफ नर्सको उच्च माग
इन्जिनियर थापाका अनुसार, विराटनगरका स्वास्थ्य संस्थाहरूमा स्टाफ नर्सको माग अत्यधिक देखिएको छ । तर, मेलामा स्टाफ नर्सका लागि आवेदन दिनेहरूको संख्या भने न्यून रहेको छ ।
पछिल्लो समय धेरै नेपाली स्टाफ नर्सहरू विदेश पलायन भएका कारण स्थानीय स्वास्थ्य संस्थाहरूमा दक्ष प्राविधिकको अभाव देखिएको हो ।
साना स्वास्थ्य संस्थाहरूको अवस्था झन् नाजुक बन्दै गएको छ । १५ देखि २० हजार रुपैयाँमा काम गरिरहेका स्टाफ नर्सहरू ठूला स्वास्थ्य संस्थाहरूमा ५० देखि ६० हजार रुपैयाँ तलब पाउने अवसरले आकर्षित भएका छन् । यसले गर्दा साना स्वास्थ्य संस्थाहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमवार दोस्रो महानगर रोजगार मेला २०८१ को उद्घाटन गरेका थिए । यसअघि २०८० मा आयोजित पहिलो रोजगार मेलाले १९७ जना युवालाई रोजगार दिलाएको थियो ।
महानगरले रोजगार मेलालाई स्थानीय युवा र रोजगारदाता संस्थाहरूबीच पुलको रूपमा स्थापित गर्न खोजिरहेको बताएको छ । यस्तो मेला आयोजनाले युवाहरूलाई अवसर प्रदान गर्दै विदेश पलायनको दरलाई केही हदसम्म कम गर्न सक्ने अपेक्षा गरिएको मेयर नागेश कोइरालाले बताए ।