लगानीकर्ताले धर्म, विश्वास र मान्यतामा विगतदेखि नै लगानी गर्दै आइरहेको इतिहास हिन्दू धर्मावलम्बीमा मात्र नभएर अन्य धर्म मान्नेहरूमा समेत हुँदै आएको देखिन्छ । लगानी भनेपछि प्रतिफलको अपेक्षा हुर्न पर्छ । यो लगानीको सिद्धान्त नै हो । यसमा सिधै नगद प्रतिफलभन्दा पनि आफूले मानेको विश्वासको परिपालन हुने, आफ्नो विश्वास कायम रहिरहने र अरूले पनि उक्त विश्वासलाई आत्मसात् गर्ने अपेक्षा रहन्छ । लगानी भनेपछि जोखिम पनि हुन्छ । यहाँ जोखिम भनेको उक्त लगानीबापत कुनै प्रतिफल नआउने सम्भावना हो । सकारात्मक होस् या नकारात्मक सोचले विश्वासमा लगानी भैरहेको छ । त्यसबाट प्राप्त प्रतिफलले सोही विश्वासलाई आड दिन्छ ।
भारतको धनी मानिने मन्दिर तिरुमाला, तिरूपतिको कुल सम्पत्ति २०२५ को पहिलो महीनासम्ममा ३५ अर्ब अमेरिकी डलर पुगेको छ । चन्दा, भेटी, मन्दिरले राखेको मुद्दती निक्षेप आदिबाट यति सम्पत्ति पुगेको हो । यसै पनि हिन्दू धर्ममा भारतीय धनाढ्यहरूले ठूलो रकम खर्च गरि नै रहेका छन् । नेपालकै पशुपतिनाथको सम्पत्ति हेर्ने हो भने १ अर्ब २० करोडको नगद, ९ किलो सुन, ३१६ किलो चाँदी र ३६६७ रोपनी जग्गा रहेको छ । पशुपति विकास कोषले उक्त सम्पत्तिको व्यवस्थापन गर्दै आएको छ । जसरी अन्य धर्ममा पनि लगानी हुन्छ ।
तिरूपति बालाजीको दर्शन गर्ने दुई तीन तरिका छन् । पहिलो, तलबाट हिंडेर माथि तिरुमाला पुगेर । तिरुपमाला पुग्न करिब ३–४ घण्टा लाग्छ र दर्शन गर्न अर्को ४–५ घण्टा लाग्छ । दोस्रो तिरुमालासम्म सवारीमा गएर त्यहीँबाट लाइन लागेर दर्शन गर्ने । यसो गर्न पनि ४–५ घण्टा लाग्छ । तर, केही शुल्क तिरेर भीआईपी सरह आधा घण्टामा दर्शन गर्न सकिन्छ । उशेश्य सबैको दर्शन नै हो । अवस्था हेरेर आफ्नो विकल्प छान्न पाइन्छ । रामेश्वरम्मा गयो भने त्यहाँ पनि प्याकेज लिएर २२ कुण्डबाट स्नान गरेर दर्शन गर्न सकिने विकल्प रहेको छ । आफै गर्दा कुन कुण्ड कता छ थाहा नहुने हुँदा, केही शुल्क तिरेर स्नान गर्ने जमात धेरै हुन्छ । भगवान् श्रीरामले लंका नरेश रावणको वध गरेपश्चात् फर्कंदा एक ब्राह्मणको हत्या गरेको आत्मग्लानीले त्यहाँ रहेको २२ कुण्डमा नुहाएर शिवको पुजा गरेको भनाइ छ । जंगबहादुर राणाले समेत कोतपर्व पश्चात पाप पखाल्न त्यहीँ गएर स्नान गरेका थिए भनिन्छ । विश्वास नै हो, त्यही भएर त्यहाँ ठूलो भीड लाग्छ ।
धर्म गर्न पनि पैसा नै चाहिन्छ । यातायात खर्च गर्ने पर्छ । त्यहाँ जाँदा खाना खानै पर्छ, बस्नै पर्छ । यसलाई एउटा अवसर बनाउन सकेमा उक्त क्षेत्रकै विकास हुने हो ।
धर्ममा व्यापार सुन्दा नमीठो लाग्न सक्छ तर मुलुकको समृद्धिको निमित्त, धर्म, विश्वासलाई आधार बनाएर यस क्षेत्रमा लगानी गर्न सकेमा उक्त क्षेत्रको विकास, समृद्धिमात्र नभएर रोजगारीको अवसरसमेत पैदा हुन्छ । उदाहरणका लागि, २०५५ सालमा स्थापना भएको मनकामना केबल कारलाई लिन सकिछ । सानो एउटा गाउँ मात्र भएको उक्त ठाउँमा आज होटल व्यवसाय, धार्मिक सामग्री विक्री गर्ने व्यवसायले ठूलो मात्रामा रोजगारी सिर्जना गरेको छ । चन्द्रागिरि होस् या कालिञ्चोक, आज त्यसै लहर अनुरूप अगाडि बढिरहेको देख्न सकिन्छ ।
भारतको रामेश्वरम्बाट रामले लंकालाई पहिलोपटक हेरेका थिए भनिन्छ । त्यही ठाउँमा छुट्टै तीर्थस्थल निर्माण गरिएको छ । हामीले ऐतिहासिक विराट दरबारको जतनसम्म गर्न सकेनौं । जतन, प्रवर्द्धन र लगानी, तीन महत्त्वपूर्ण पक्ष हुन् जसले यस क्षेत्रबाट आर्थिक लाभ लिन सक्छ । गत वर्ष मात्र भारतमा अयोध्याको भव्य प्राणप्रतिष्ठा भयो । त्यहाँको राम मन्दिर भारतको सबैभन्दा बढी पर्यटक आएको क्षेत्र बनेको छ ।
विश्वासमाथिको दहन हिजो पनि कसैले सहेको थिएन, आज पनि सहँदैनन् । तर विश्वासलाई आत्मसात् गर्दै त्यसको प्रवर्द्धन गर्न सके त्यो ठूलो अवसर बन्छ । नेपालमा विराट दरबारजस्ता कति ठाउँ छन, जसले उचित प्राथमिकता पाएका छैनन्, लोप हुने अवस्थामा पुगेका छन् । विदेशमा लुम्बिनीको माटो प्याक गरेर विक्री गरियो भने विक्री हुन सक्छ । तर त्यसो गर्न नसक्नु हाम्रो कमजोरी हो । बुद्धभूमि भनी गर्व गर्ने, होहल्ला गर्ने नेपालीहरूले भारतले बुद्धलाई दिएको स्थान बुझेका छैनन् । त्यहाँ बुद्ध बसेको ठाउँदेखि बुद्धत्व प्राप्त गरेको ठाउँलाई प्रवर्द्धन गरेर व्यवसाय गरिरहेका छन् । पर्यटनका लागि धार्मिक गन्तव्य महत्त्वपूर्ण हुन्छ । तर त्यसबाट नेपालले के कति लाभ लिन सक्यो, त्यो मनन गर्नु पर्ने विषय हो । बुद्धको नाममा भावना नेपालमा बढी होला तर आर्थिक फाइदा नेपालभन्दा भारतले बढी लिइरहेको छ । वाल्मिकी आश्रम चितवनमा छ । तर यसले स्वदेशी पर्यटक नै भिर्याउन सकिरहेको छैन ।
पशुपतिमा विकास कोषले मात्र आम्दानी गरिरहेको छैन, रुद्राक्ष व्यापारीदेखि फूल बेच्नेसम्मले कमाउने अवसर पाएको छ । पाथीभरा क्षेत्रमा होस् या मुक्तिनाथ, कालिञ्चोक क्षेत्रमा होस्, व्यापार भएकै छ । धर्म र आस्था सधैँ व्यापारभन्दा माथि हुन्छ । दुवैसँगै लिएर अगाडि बढिन्छ भने त्यो विवेकपूर्ण रूपमा गरेकै ठिक हो । पाथीभरामा केबल कार बनेमा, माथिल्लो फेदीको होटल व्यवसाय सुक्ने पक्का छ, मान्छे बोकेर माथि पुर्याउनेहरूको रोजगारी खोसिने पक्का छ, तर त्यसपश्चात् त्यहाँ हुने व्यापारले अन्य मोड लिन्छ, त्यो पनि पक्का छ । त्यहाँ केबल कार बन्नु हुन्छ हुदैन भनेर त्यहाँको स्थानीय किराती समुदायसँग समन्वय गर्न भने आवश्यक छ । किरातीको आस्थालाई थिचेर निर्णय गर्दा झन् भयावह अवस्था निम्तिन सक्छ । किनभने आस्था र विश्वास व्यापार र धनभन्दा धेरै माथि छ ।
जस्तो सुकै धार्मिक कुरा भए पति त्यसमा आर्थिक स्रोत सलबलाइरहेकै हुन्छ । यथार्थमा धर्म गर्न पनि पैसा नै चाहिन्छ । यातायात खर्च गर्ने पर्छ । त्यहाँ जाँदा खाना खानै पर्छ, बस्नै पर्छ । यसलाई एउटा अवसर बनाउन सकेमा उक्त क्षेत्रकै विकास हुने हो । यस विषयमा स्थानीय सरकार, केन्द्रीय सरकार, र स्थानीय समुदाय सबै बीच हातेमालो आवश्यक छ । रोजगारी र आर्थिक समृद्धि सोचे अनुरूप नभइरहेको समयमा यसलाई अवसर भनी पहिचान गर्न सकेमा अर्थतन्त्रलाई नै टेवा मिल्नेछ ।
रेग्मी बैंकर हुन् ।