कागजमा गरीब देखिने तर वास्तवमै धनी रहने किन लाभदायक हो ? आजको समाजमा तपाईंका वित्तीय विवरण, कर फाइलहरू र सम्पत्ति विवरणहरू तपाईंविरुद्ध प्रयोग हुन सक्छन् । यदि तपाईं सफल र धनी हुनुहुन्छ भने तपाईंको लक्ष्य धन देखाउने होइन, कागजमा त्यस्तो देखिनु हो कि तपाईंसँग धेरै छैन । यो सम्पत्ति लुकाउने वा कर छल्ने कुरा होइन । यो कानूनी, स्थापित संरचनाहरू प्रयोग गरेर तपाईंको धन सुरक्षित राख्ने, कर व्यवस्थापन गर्ने र आक्रमणबाट जोगाउने उपाय हो । भन्नुको अर्थ वास्तविक रूपमा धनी भए पनि कागजमा ‘गरीब’ देखिनु हो ।
किन यस्तो गर्नुपर्छ ?
कल्पना गर्नुहोस्, तपाईंमाथि मुद्दा पर्यो । के तपाईं अदालतमा पैसा, सम्पत्ति धेरै देखिने व्यक्तिको रूपमा जान चाहनुहुन्छ ? कि कम देखिने ? तपाईंको वित्तीय छविले मुद्दा, डिभोर्स वा सम्पत्ति करहरूमा ठूलो प्रभाव पार्न सक्छ । यस्तै, कर फाइलिङमा पनि ‘धनी क्लब’मा परेको देखिएमा तपाईं उच्च कर दर र अतिरिक्त शुल्क तिर्न बाध्य हुनुहुन्छ । तर ‘गरीब क्लब’मा देखिनेहरू—जो आफ्नो आय, सम्पत्ति संरचना र कर रिपोर्टिङ नियन्त्रण गर्छन् प्रायः कानूनी रूपमा कम कर तिर्छन् ।
जीवनशैली परिवर्तन गर्नु पर्दैन, योजना परिवर्तन गर्नुहोस्
यो रणनीति अपनाउन तपाईंले आफ्नो महँगो कार बेच्न, महलजस्तो घर त्याग्न या जीवनशैली फेर्नु पर्दैन । यो तपाईंको सम्पत्ति कसरी राखिएको छ, कसरी कर लाग्छ र कागजमा के देखिन्छ भन्ने योजना हो । तपाईंका वकिल, सीपीए (करविज्ञ), लगानी सल्लाहकार र बीमाविज्ञ मिलेर यस्तो संरचना बनाउनुपर्छ ।
धन संरचना गर्ने उपायहरू
स्वामित्व र कर सार्न व्यापार वा सम्पत्ति बेच्दा परोपकारी संस्था कोषहरू प्रयोग गर्न सकिन्छ । पूँजीगत लाभ कर टार्न, दानको कटौती पाउन र सम्पत्ति आफ्नो नामबाट हटाएर पनि आम्दानी पाउन यस्ता उपाय अपनाउनुपर्छ । विभिन्न पारिवारिक कोषले सम्पत्तिको मूल्य स्थिर राख्छ र भविष्यमा सम्पत्तिको उत्तराधिकारीहरूलाई करमुक्त रूपमा हस्तान्तरण गर्न सकिन्छ । ‘कहिल्यै कर नलाग्ने’ सम्पत्ति बीमा हो । बीमाले करमुक्त वृद्धि, करमुक्त ऋण प्रदान गर्छ । साथै, यो सम्पत्ति कर फाइलमा देखिँदैन र राज्य अनुसार ऋणीहरूबाट सुरक्षा प्रदान गर्छ । सम्पत्ति बीमामा कुनै आय सीमा छैन, समय वा उमेरको प्रतिबन्ध छैन, सजिलै पहुँच पाउन सकिन्छ ।
(फोर्ब्सबाट)