अहिलेका धेरै युवाले कलेज पढेर राम्रो अंक ल्याएका छन् तर पनि तिनले जागीर पाउन निकै संघर्ष गरिरहनु परेको छ । उदाहरणका लागि फ्लोरिडा स्टेट युनिभर्सिटीकी उत्कृष्ट विद्यार्थी ज्याकलिन क्लाइनलाई लिन सकिन्छ । उनले पढाइ सकिएपछि सयौं ठाउँमा जागीरका लागि आवेदन दिइन्, तर कतैबाट सकारात्मक जवाफ पाइनन् । अन्ततः उनी फेरि आफ्नै बाल्यकालको कोठामा बस्न पुगिन् । उनले भनिन्, ‘डिग्री पाएको थिएँ, राम्रो ग्रेड थियो, तर त्यसले केही फरक पारेन ।’
अहिलेको समय नयाँ पुस्ताका लागि कठिन छ
अहिले २०–२५ वर्ष उमेरका युवाहरूका लागि रोजगारीको ढोका खोल्न निकै गाह्रो भइरहेको छ । अर्थतन्त्र सुस्त छ, मान्छेहरू जागीर छाड्न डराइरहेका छन्, कम्पनीहरूले नयाँ कामदार राख्न हिच्किचाइरहेका छन् । साथै, कृत्रिम बुद्धिमत्ताले नयाँ र शुरूका तहका कामहरू हराउँदै लगेको छ ।
पहिले सजिलो लाग्ने करियरको बाटो अब बन्द हुँदै गएको छ
सरकारी र सामाजिक सेवाका जागीरहरू घटिरहेका छन् । कानून पढ्न चाहने विद्यार्थीहरू धेरै भए पनि काम पाउन गाह्रो छ । अमेरिका पीस कर्पजस्ता सेवा कार्यक्रमहरू पनि काटिँदै छन् । राम्रो योजना बनाएका युवा पनि अहिले रोजगारीविहीन छन् । ज्याकलिनले काम खोज्न छाडेर मास्टर डिग्री पढ्न थालेकी छन् । उनका धेरै साथी पनि पढाइ थप गर्ने, धेरै आवेदन दिने, वा आफ्नो क्षेत्रबाहिर काम गर्न थाल्ने निर्णय गर्दै छन् ।
उच्च शिक्षा भएर पनि फाइदा छैन
यहाँसम्म कि हार्वर्डबाट एमबीए गरेका धेरै विद्यार्थी पनि ३ महीनासम्म बेरोजगार छन् । मानिसहरू सोधिरहेका छन्, डिग्री लिँदा पनि जागीर नपाइने हो भने यसको मतलब के ?
इन्टर्नशिपको संख्यामा भारी गिरावट
सन् २०२३ देखि २०२५ को शुरुआतसम्म इन्टर्नशिपको संख्या १५ प्रतिशतले घटेको छ । पुराना कामदारहरू अझै जागीरमा छन् जसले गर्दा नयाँ पुस्ताका लागि अवसरहरू बन्द भएका छन् ।
सार्वजनिक सेवा पनि असुरक्षित
युवा सरकारी सेवामा रुचि राखे पनि अहिले जागीरहरू कटौती भइरहेका छन् । एक जना मेरील्यान्ड युनिभर्सिटीका विद्यार्थीको शिक्षक सहायकमा इन्टर्नशिप र अर्को इन्टेलिजेन्स एजेन्सीको जागीर पनि कटौतीका कारण गुम्यो । अहिले उनी आइसक्रिम पसलमा काम गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
अर्थतन्त्र कागजमा राम्रो देखिए पनि भित्री समस्या गहिरो छ
आधिकारिक तथ्याङ्कमा रोजगारीको दर राम्रो देखिए पनि युवाहरूका लागि काम पाउन गाह्रो छ । प्रोफेशर म्यान्सफिल्ड भन्छन्, काम त छन्, तर युवाहरूलाई त्यहाँ पुर्याउने बाटाहरू कमजोर हुँदै गएका छन् । कोरोनापछि युवाहरूका तलब दरहरू बढेका थिए । तर, अहिले २२–२७ वर्षका स्नातक युवाहरूका लागि रोजगारको अवस्था अचानक खराब भएको छ । अहिलेका युवा बेरोजगारी दर अघिल्ला ४० वर्षको तुलनामा सबैभन्दा बढी छ । केही क्षेत्रमा, जस्तै स्वास्थ्य सेवा र वृद्धहरूको हेरचाहमा, कामको आवश्यकता बढ्न सक्छ । एआईको प्रयोगसँगै नयाँ खालका कामहरू पनि आउन सक्छन् । तर, अहिलेको लागि, धेरै युवा अड्किएका छन् । ज्याकलिन जस्तै केहीले थप डिग्री र इन्टर्नशिपबाट भविष्य राम्रो बनाउने आशा राखेका छन् ।
जेनजीको सोच बदलिँदै छ
पहिलेका पुस्ताजस्तै घर किन्ने, परिवार पाल्ने, रिटायर हुने सपना अहिलेका युवाहरूका लागि टाढा देखिन थालेको छ । त्यसैले धेरैले परम्परागत ‘हार्ड वर्क’को बाटोलाई छोड्न थालेका छन् । तर, केही भने आफूमाथि विश्वास गर्नेहरू पनि छन् । २२ वर्षीया इसाबेला क्लेमेन्सले कलेज सकेपछि टेक्सासको अष्टिन सहर जाने निर्णय गरेकी छन् । उनले रिटेल (पसल) मा काम गर्दै आफ्नो रुचिको ग्राफिक डिजाइन वा ब्रान्डिङको जागीर खोज्ने योजना बनाएकी छन् । उनले भनिन्, ‘मेरो सपना जागीर त होला होला, तर त्यसमा म जस्तै ४०० जना अरू पनि आवेदन दिइरहेका छन् ।’
(बिजनेश इन्साइडरबाट)