
चाडपर्व र उत्सवमा गरगहना लगाउनु नेपाली परम्परा र संस्कृतिको विशेषता नै हो । अझ नेपाली मात्रको विशेष पर्वको रूपमा रहेको तिहारमा सुनचाँदीलगायत गरगहना खरीद गर्नुको धार्मिक र ऐतिहासिक महत्त्व छ । गहना शब्द ‘गहनता’ अर्थात् ‘गहन विशेषता’ भन्ने अर्थसँग सम्बन्धित भएको ज्योतिष डा. वासुदेवकृष्ण शास्त्री बताउँछन् । उनका अनुसार जुन गहना जुन अङ्गमा लगाइन्छ, सोही अङ्गमा त्यसले प्रभाव पार्ने गर्छ ।
वैदिक धर्मशास्त्रीय मतअनुसार कानमा लगाइने गहनाले राम्रा र सन्तुलित कुरा सुन्ने मौका प्राप्त हुन्छ । नाकमा लगाइने गहनाले सुगन्धयुक्त जीवन बिताउन सहयोग पुर्याउँछ । त्यसैगरी घाँटीमा लगाइने गहनाले मुटुको धड्कन सन्तुलन गर्न मद्दत पुर्याउने मान्यता पनि छ । विवाहपछि महिलाले मङ्गलसूत्र लगाउनुमा पनि मुटुको धड्कनका साथै दुई मुटुको मिलनको सङ्केत रहेको ज्योतिष शास्त्री बताउँछन् ।
मानिसले गहना कहिलेदेखि लगाउन थाले भन्ने यकिन तथ्य पाइँदैन । विभिन्न कालखण्डका तस्वीर तथा लेखहरू हेर्दा भने मानिसले जङ्गली युगदेखि नै गहना लगाउन थालेको स्पष्ट हुन्छ । त्यसबेला मानिसहरू काठ, ढुङ्गा तथा विभिन्न पशुका हाड तथा दाँत गहनाका रूपमा प्रयोग गर्थे । यस्ता सामग्री लगाउँदा खराब आत्माबाट जोगिन सकिने मान्यता थियो । पछि मानिसले फेला पारेका रङ्गीन, चम्किला तथा ठोस प्रकृतिका धातु तथा पत्थर विभिन्न आकारप्रकारमा ढाल्दै आधुनिक गहना लगाउन शरू गरियो । त्यसमा पनि गहनाको रूपमा सुनको सबैभन्दा बढी प्रयोग गरेको पाइन्छ ।
आयुर्वेदका अनुसार सुन तापयुक्त हुन्छ भने चाँदी शीतलतायुक्त हुन्छ । त्यसैले, शिरको भागमा सुनका गहना र पाउमा चाँदीका गहना लगाउनाले शरीरको विद्युत् प्रवाह व्यवस्थित गर्न मद्दत मिल्ने आयुर्वेदिक मान्यता छ । शिरमा लगाएको सुनका गहनाले उत्पन्न गरेको ताप पाउमा लगाइएको चाँदीको गहनाको शीतलताले आफूतिर खिच्ने र पाउको शीतलता सुनले शिरतिर खिच्ने कुरा आयुर्वेदमा उल्लेख छ ।
आधुनिक उपचार पद्धतिका आधारमा हेर्दा शरीरका विभिन्न स्थानमा लगाइने गहनाले अकुपञ्चरको काम पनि गर्ने ज्योतिष शास्त्री बताउँछन् । ‘हातका औंला तथा नाडीमा अकुपञ्चर प्वाइण्ट हुन्छन्, जसले गर्दा यहाँ लगाइने गहनाले अकुपञ्चरको साधनको काम गर्छ,’ उनी भन्छन्, ‘नियमित रूपमा चुरा लगाउने मानिसमा मेरुदण्डको समस्या हुँदैन भने दुवै खुट्टामा पाउजु वा कल्ली लगाउनाले नसाको समस्या हुँदैन ।’ त्यसैगरी, छात्तीमा लगाइने पोते, माला तथा जनैले सोही स्थानको अकुपञ्चरको काम गर्छ । यस हिसाबले हेर्दा गहना महिला तथा पुरुष दुवैका लागि आवश्यक देखिन्छ ।
धार्मिक टेलिशृङ्खलाहरूमा प्रस्तुत महिला तथा पुरुष दुवै पात्रले गहना लगाएको देखाइन्छ । देवताका पोष्टरहरूमा पनि महिला पुरुष दुवैले गहना लगाएको देखिन्छ । वैदिक धर्मशास्त्रमा गहनाको महत्त्वका बारेमा उल्लेख हुनु र यस्ता टेलिचलचित्र तथा पोष्टरमा महिला र पुरुष दुवैले गहना लगाएको देखाइनुले यसको महत्त्व झनै प्रस्टिन्छ । इतिहास अध्ययन गर्ने हो भने पनि राजा, महाराजा तथा राजकुमारहरूले स्त्रीसरह गहना लगाएका प्रमाण भेटिन्छन् ।
पहिले–पहिले पुरुषहरूले पनि महिलासरह गहना लगाउने गरेको ज्योतिष शास्त्री स्वीकार्छन् । ‘पछि महिलाले फेशनका रूपमा यसलाई निरन्तरता दिए भने पुरुषले बोझका रूपमा लगाउन छोडे,’ उनी भन्छन् । तर, अझै पनि पुरुषले पूर्ण रूपमा भने गहना लगाउन छोडेका छैनन् । गहनामा पुरुषले खासगरी सिक्री, औंठी, ब्रासलेट र टप वा कुण्डल लगाउने गर्छन् ।
अहिलेको नेपाली समाजमा पुरुषले सुनको सिक्री र औंठी लगाउनु सामान्य हो । त्यसैगरी शौखीनहरूले ब्रासलेट लगाउनु पनि नराम्रो मानिँदैन । तर, पुरुषले एउटा वा दुईओटै कानमा टप, कुण्डल आदि लगाउनु भने त्यति सहज रूपमा लिइँदैन । कतिपय पुरुषले सके सुनका, नसके चाँदी वा त्यो पनि नसके सस्तो धातुका टप, कुण्डल लगाउने गरेको पाइन्छ । कतिपयले त कान फट्टा जोगीहरूले झैं कानको लोतीमा ठूलो प्वाल बनाउने रिङ पनि लगाउने गरेको पाइन्छ । भनिन्छ, खासमा इयर रिङको आविष्कार पुरुषले लगाउन भएको थियो । पहिले पर्सेपोलिस र फारसी पुरुषले लगाउने गरेको इयर रिङ नै पछि महिलाले लगाउन थालेका हुन् भन्ने मत छ ।
पुरुषहरूले लगाउने गहनामा धेरैजसो प्लाष्टिक, काँच आदिका पाइन्छन् । त्यस्तै, पुरुषहरूले औंठीमा कुनै रत्न वा हीरा राखेर लगाउने प्रचलन पनि छ । उनीहरूले लगाइरहेका गहनाले उनीहरूको आर्थिक हैसियतसमेत दर्शाइरहेको हुन्छ । बहुजातिको बसोबास रहेको नेपालमा जातीय पहिरनसँगै गहना पनि छन्, जसमा कतिपय जातिमा पुरुषले पनि विभिन्न गहना लगाउने गर्छन् । उदाहरणका रूपमा चौबन्दी चोलीको तुनामा लगाइने चर्चुङ र बिनायोसँगै झुन्ड्याइने चम्पा राई जातिका महिलाका साथै पुरुषले पनि प्रयोग गर्छन् ।
गहनाको विशेषता रङका आधारमा पनि हेर्ने गरिन्छ । सेतो सुन, चाँदी, काँचजस्ता गहना शान्ति, शीतलताजस्ता कुराको प्रतीक मानिन्छ । त्यसैगरी, सुन समृद्धि तथा आध्यात्मिकताका साथै तामा आरोग्य, सत्य, न्याय र निष्ठाको प्रतीकको रूपमा प्रयोग गरिन्छ । कैदीबन्दीलाई बाँध्न प्रयोग हुने फलाम अनुशासनको प्रतीक हो भने ज्योतिषीय दृष्टिले शनिको दशामा व्यक्तिलाई अनुशासनको प्रभावका लागि फलामको औंठी, चुरा धारण गर्न लगाइने ज्योतिष शास्त्री बताउँछन् ।
जल, जमीन, वायु, आकाश र अग्नि पञ्चतत्त्वको प्रतीकका रूपमा सुन, चाँदी, तामा, पित्तल, फलाम मिसिएको पञ्चधातुको प्रयोग हुने गरेको छ । यी धातुलाई वैदिक शास्त्रमा महत्त्वका साथ वर्णन गरिएको छ । नजिकिँदै गरेको तिहारको धनतेरश (लक्ष्मीपूजा)का दिन गहना वा रत्न किन्नु शुभ मानिन्छ । देवता र दैत्यद्वारा गरिएको समुद्र मन्थनका बेला सुन निस्किएको र त्यो दिन धनतेरसकै दिन परेकाले उक्त दिन सुन तथा अन्य बहुमूल्य धातुका गहना, भाँडा तथा रत्न जोड्नु शुभ मानिएको ज्योतिष शास्त्री बताउँछन् ।