धितोपत्र भनिने कम्पनीको पूँजीको अंश वा खण्ड (शेयर) हरेक दिन हस्तान्तरण हुने गर्छ । व्यवहारमा किनबेच भनिए पनि सिद्धान्ततः हितको हस्तान्तरण हो । कम्पनीको यस्ता अंश वा खण्ड (शेयर) लगानीको एउटा स्वरूप हो । लगानीबाट हक र अधिकार निःसृत हुन्छ । यस्ता हकअधिकारलाई आवश्यकतानुसार जुनसुकै बेला हस्तान्तरण गर्न सकिन्छ । यसरी हस्तान्तरण गर्न निर्माण गरिएको व्यवस्थित संरचनालाई समग्रमा ‘पूँजीबजार वा शेयरबजार’ भनिन्छ । यसका विभिन्न अवयव हुन्छन् । सतही रूपमा देखिने वा सोचिनेभन्दा फरक संरचना र प्रणालीको जटिल आबद्धताभित्र यसले कार्य गर्छ । बाहिरबाट यसका बारेमा टीकाटिप्पणी गर्न जति सजिलो हुन्छ र देखिन्छ भित्री स्वरूप वा प्रणालीमा बृहद् जटिलताका अवयव हुन्छन् । शेयरबजारमा कारोबार हुने धितोपत्रको हस्तान्तरण ‘अहिलेको अहिल्यै गरिदिनुपर्छ, एक क्लिकमा हुने कुरालाई नगरेर’ भन्ने जस्ता प्रसंग आएको सन्दर्भमा यसैको सेरोफेरोमा रहेर राफसाफको अभ्यास बारेको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
राफसाफ र यसको कानून
ठाउँ अनुसार राफसाफको विधि फरक भए पनि शाब्दिक अर्थ कुनै कुरा मिलाउने वा व्यवस्थापन गर्ने भन्ने बुझिन्छ । शेयरबजारका सन्दर्भमा राफसाफ भन्नाले एक धारकबाट अर्को धारकको नाममा शेयर कायम गराउने वा नामसारी गर्ने भन्ने बुझिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने हरेक दिनको कारोबारलाई राफसाफ गराउने जिम्मा धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली २०६९ ले केन्द्रीय निक्षेपक (सीडीएस) लाई दिएको छ । नेप्से, कारोबार सदस्य (दलाल), सीडीएस, राफसाफ सदस्य (क्लियरिङ मेम्बर), ग्राहक, समाशोधन (क्लियरिङ) बैंक यसका मूल साझेदार हुन् । विनियमावलीको विनियम २(ङ) मा ‘राफसाफ भन्नाले खरीदकर्ता ग्राहकले खरीद गरेको धितोपत्र आफ्नो नाममा नामसारी गर्न कम्पनीमा पठाउने र बजारबाट हुने लाभ प्राप्त गर्न खाली हस्तान्तरण (ब्ल्यान्क ट्रान्सफर) मा दर्ता गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले खरीदविक्री भएको धितोपत्रको नामसारी स्वचालित कारोबार प्रणाली मार्पmत अभौतिकीकरण गरी वा नगरी हुने राफसाफ कार्य समेतलाई जनाउँछ’ भनेको छ । त्यस्तै, विनियमावलीको २(च) मा ‘फछ्र्योट भन्नाले खरीदकर्ता र विक्रीकर्ता सदस्य बीच कारोबार सम्पन्न भई धितोपत्र तथा रकम लेनदेन भएको कार्यलाई सम्झनुपर्छ’ भनेको छ । विनियम २ (ज) मा ‘राफसाफ सदस्यको परिभाषा गर्दै सिडिएसले राफसाफ तथा फछ्र्योट कारोबार गर्न नेप्सेको सदस्यता कायम रहेको सदस्य हुनुपर्ने भनेर उल्लेख गरेको छ । नेप्सेमा सदस्यता कायम रहेका भनेर दलाललाई इंगित गरिएको हो । दलालले कारोबार गराउने हुँदा यिनै दलाललाई नै राफसाफ सदस्यको भूमिका पनि दिइएको हुन्छ । विनियम २ (त) मा धितोपत्रको पूल एकाउन्ट भन्नाले राफसाफ सदस्यले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट कार्यका लागि निक्षेप सदस्यकोमा खोलेको विद्युतीय खाता (डिम्याट एकाउन्ट) सम्झनुपर्छ भनेको छ ।