साउन २१,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर जिल्लास्थित दिब्येश्वरी जग्गा अधिकरण आयोजनामा कार्यरत नायव सुब्बा देउमान कडरियालाई मंगलवार घूससहित पक्राउ गरको छ ।
जग्गाको लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग रू. ५० हजार घूस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका –३२स्थित पेप्सीकोलाबाट उक्त आयोजनामा कार्यरत नासु कडरियालाई रंगेहात पक्राउ गरेको अख्तियारले बताएको छ ।
सेवाग्राहीसँग घूस लिंदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग काठमाडौंबाट गएको टोलिले निजलाई पक्राउ गरेको बुझिएको छ । पक्राउ परेका अभियुक्तलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।