सिमकोट, (हुम्ला) । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ ओटा उडान गरेका छन् ।
सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलामा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ ओटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन् ।
भारतीय पर्यटकहरू सिमकोटदेखि हिल्सा हुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि जान्छन् । काठमाडौं–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक यो मार्ग रोज्ने गर्छन् ।
सिमकोट विमानस्थलका कर्मचारी दीपेन्द्र भण्डारीका अनुसार गत जेठ २४ गते १२ जना विदेशी पर्यटक हुम्ला आएका थिए । उनका अनुसार यही असार २ गतेयता कैलाश मानसरोवर जानका लागि ३६२ भारतीय यात्री हवाई मार्ग हुँदै हुम्ला आएका छन् ।
यहाँबाट यात्रुहरू सडक र हवाईमार्ग हुँदै हिल्सा जान्छन् भने त्यहाँबाट सडकमार्ग हुँदै चीन प्रवेश गर्छन् । रासस