उत्पादन वृद्धिको मूल आधार श्रमिक नै हुन् । दक्ष श्रमिक नभइन्जेल गुणात्मक वस्तुको उत्पादन हुन सक्दैन । गुणात्मक वस्तु उत्पादन नहुनु भनेको सहजै बजार पाउने सम्भावना गुम्नु नै हो । अहिले नेपालको आर्थिक वृद्धिदरको अवस्था निराशाजनक छ ।
यही अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धिदर हाम्रा लागि आश्चर्यजनक लाग्न सक्छ । हामीले उदार अर्थतन्त्रको अभ्यास पनि गर्यौं । कतिपय विद्वान् आर्थिक उदारीकरण नै आर्थिक वृद्धिको मुख्य आधार भएको कुरामा अहिले पनि जोड दिनुहुन्छ ।
तर, आर्थिक उदारीकरण मात्र आर्थिक वृद्धिको आधार होइन रहेछ भन्ने प्रमाणित भइसकेको छ । उसो भए हामी आर्थिक विकासको उत्कर्षमा पुग्न सक्दैनौं त भन्ने प्रश्न उठ्छ ।
सरल शब्दमा भन्ने हो भने दक्ष श्रमिकको विकास गर्न सक्ने हो भने हामीले लक्ष्यअनुरूपकै आर्थिक वृद्धिदर हासिल गर्न सक्छौं । हाम्रा छिमेकी मुलुक भारत र चीनले सरदर दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गरिसकेका छन् । यसको मुख्य आधार दक्ष श्रमिकको उपलब्धता नै हो ।
अस्थिर राजनीतिलाई पनि आर्थिक वृद्धिदरको अवरोधका रूपमा लिने गरिएको छ । यो विषय आफैमा समस्या होइन । मुख्य समस्या त अस्पष्ट र छिटोछिटो परिवर्तन भइरहने आर्थिक नीति नै हो ।
(अर्थशास्त्री डा. डिल्लीराज खनालसँगको कुराकानीबाट)
वर्ष ८, अंक १४५, सोमवार, २८ माघ, २०६९