काठमाडौं। केही वर्षअघिसम्म वैदेशिक रोजगारीमा जाने युवायुवतीमा अधिकांश अदक्ष हुने गरेकोमा पछिल्लो समयमा यसमा सुधार हुँदै गएको छ । वैदेशिक रोजगारीमा जाने दक्ष जनशक्तिको संख्या बढ्दै जानुमा सरकारले विदेशिने युवायुवतीलाई विभिन्न शीप सिकाएका कारण हो वा आन्तरिक श्रमबजारका दक्ष जनशक्ति नै बाहिरिएका हुन् भन्ने चाहिँ यकीन हुन सकेको छैन ।
सरकारी अधिकारीहरूले युवालक्षित विभिन्न शीपयुक्त कार्यक्रम सञ्चालन गरिरहेको र त्यसको प्रभाव वैदेशिक रोजगारीमा पनि परेको दाबी गर्ने गरेका छन् । अर्कोतर्फ निजीक्षेत्रसम्बद्ध व्यक्तिहरूले भने बैंकिङ, बीमा, स्वास्थ्यलगायत क्षेत्रबाट दक्ष जनशक्ति विदेश पस्ने क्रम बढेको बताउने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार पुसमा उच्च दक्ष, व्यावसायिक तथा शीपयुक्त गरी ५३ हजार ६ सय ३० युवायुवती वैदेशिक रोजगारीमा गए । पुसमा कुनै पनि शीप नसिकेका १२ हजार १ सय ८३ ले श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।