काठमाडौं । नागरिक लगानीकोषले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६२ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कोषको खुद नाफा करिब १४ प्रतिशत बढी भएको हो ।
दोस्रो त्रैमाससम्म कोषको कुल आम्दानी १ अर्ब ३ करोड ९५ लाख रुपैयाँ रहेको छ । कुल खर्च भने २० करोड ८६ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष कोषको कुल आम्दानी ९२ करोड ४५ लाख रुपैयाँभन्दा बढी र कुल खर्च १९ करोड ६५ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष कोषको कुल आम्दानी र खर्च दुबै बढेको छ । यस अवधिसम्म कोषको रिटर्न अन इक्वीटी ६ दशमलव ६५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ १८ पैसा छ ।
वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ २० पैसा रहेको कोषले वित्तीय विवरणमा उल्लेख गरेको छ । दोस्रो त्रैमाससम्म कोषको शेयरपूँजी ६ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम २८ अर्ब ७० करोड रुपैयाँभन्दा बढी कायम छ । यस अवधिसम्म कोषको कुल लगानी २ खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी छ । नेपाल सरकारको ऋणपत्रमा ५० करोड रुपैयाँ लगानी रहेको कोषको मुद्दती निक्षेपमा १ खर्ब ३८ अर्ब रुपैयाँभन्दा बढी छ ।