काठमाडौं । दशैंको दुई दिनमा देशभर ७ जनाले ज्यान गुमाएका छन् । दशैंको एघारौं दिन आज (आइतवार) ४ जनाको सडक दुर्घटनामा मृत्यु भएको हो ।
यस्तै, दशैंको टीकाको दिन (शनिवार) २ जनाको करेन्ट लागेर मृत्यु भएको छ भने १ जनाको हत्या भएको छ ।
चितवनमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा १ जनाको मृत्यु
चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका–१ बस्ने वर्ष २१ को दीपेश चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते अवस्थामा रहेका चौधरीको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा आइतवार (आज) साँझ सवा ७ बजे मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार स्कुटरमा पछाडि सवार खैरहनी नगरपालिका–१ बस्ने वर्ष २४ का अर्जुन चौधरी गम्भीर घाइते भएका छन् । नाक र मुखमा चोट लागी घाइते भएका चौधरीको मनकामना अस्पतालमा उपचार जारी छ ।
त्यसैगरी मोटरसाइकल चालक खैरहनी नगरपालिका –१ बस्ने वर्ष २२ को अनिस बस्नेत र सोही मोटरसाइकलको पछाडि बस्ने सोही स्थानका वर्ष २२ को सुजेक दराई घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मोडिकल कलेज भरतपुरमा उपचार भइरहेको यादवले जानकारी दिए । दुर्घटना आज साँझ सवा ६ बजेको हो ।
झापामा ३ जनाको मृत्यु
झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरित दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
यस्तै कमल–४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा शिवसताक्षी–८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ ।
चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।
उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए । बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
मृतक दुवै नाबालिका रहेकाले नाम थर गोप्य राखिएको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
कैलालीको चुरे गाउँपालिका–६, ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
डम्मरबहादुरले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ । राससको सहयोगमा