विराटनगर । खुला सिमानाले गर्दा विराटनगरबाट ७ किलोमीटर पर रहेको भारतीय जोगवनी बजारमा नेपाली उपभोक्ताको भीड थामिनसक्नु छ । वारिको विराटनगर बजार भने सुनसान छ । खुला सीमा, उच्च भन्सार दर र उपभोक्ता सचेत नहुँदा १२ महीना नै सीमावर्ती जोगवनी बजारको दबाबमा विराटनगर बजार पर्दै आएको छ ।
चाडबाडका बेला पनि विराटनगर बजारका अधिकांश पसले ग्राहक कुरिरहेका भेटिन्छन् । जोगवनीमा एउटै पसलमा सयभन्दा बढी ग्राहकको भीड लाग्छ । जोगवनीका पसले ग्राहकलाई सामान दिन भ्याउँदैनन् भने विराटनगरका पसलमा सञ्चालक र सहयोगी ग्राहकको प्रतीक्षामा दिनभर बसिरहन्छन् । दशैंको किनमेल गर्न झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभासमेतका ग्राहक ओइरिएका छन् । भान्साका सामानदेखि लत्ता कपडासम्म सस्तोमा पाइने भएकाले उनीहरू जोगवनी पुग्छन् ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी सरकारी नीतिकै कारण यताको तुलनामा सस्तोमा पाइने सामान किन्न उपभोक्ता जोगवनी पुग्दा विराटनगरलगायत नेपालका सीमावर्ती बजारहरू सुनसान हुने गरेको गुनासो गर्छन् । राजस्वका कारण सीमापारिका बजारमा वारिको तुलनामा सस्तोमा सामान पाइन्छ । जहाँ सस्तो पाइन्छ, सामान किन्न त्यहीँ जानु ग्राहकको मानवीय स्वभाव भएको राठीको भनाइ छ ।
चिनी, दाल, चामल, लत्ताकपडा, काजु, किसमिस, जिरा, धनियाँ, भुजिया, बिस्कुट, खानतेल, चियापत्ती, साबुन, कफीलगायत दैनिक उपभोग्य वस्तुमा राजस्व उच्च रहेको राठीको भनाइ छ । राजस्वकै कारण ती सामान सीमापारि सस्तोमा पाइन्छ । सामान किन्न ग्राहक पारि जाने र अनधिकृत आयात अनियन्त्रित हुँदा विराटनगर बजारका सटर धमाधम बन्द हुँदै गएको राठीले बताए ।
अचेल जोगवनीबाट दैनिक औसत ५ करोड रुपैयाँभन्दा बढी मूल्यका उपभोग्य सामान निर्बाध रूपमा भित्रिने गरेको व्यापार संघको आँकडा छ ।
सीमापारिको जोगवनी बजारबाट एक जना उपभोक्ताले एकपटकमा दुई जोर कुर्थाशुरूवाल, पाँच किलो चिनी, चियापत्ती, तोरीको तेल, साबुन, सर्फ, जिरालगायत भान्साका सामान सहज रूपमा लिएर आउन सक्छ । यसलाई व्यावहारिक रूपमा रोक्न नमिल्ने भन्सार अधिकारीको भनाइ छ । दशैंका बेला दैनिक ५० लाख रुपैयाँसम्मको कारोबार हुनुपर्ने भाटभाटेनी सुपर मार्केटमा सोचेजस्तो व्यापार नभएको प्रबन्धक पर्शुराम तिम्सिनाले बताए । सस्तोका नाममा भएभरका उपभोक्ता जोगवनी हुइँकिँदा कारोबार सोचेजस्तो हुन नसकेको उनको ठहर छ ।
त्यसबाहेक भान्साका सामान र दैनिक उपभोग्य वस्तु अनधिकृत बाटोबाट भित्रिँदा स्थानीय बजार सुनसान छ । व्यवसायीका अनुसार यसबेला विराटनगरमा खाद्यान्नलगायत भान्साका सामानको कारोबार पटक्कै छैन । लत्ताकपडाको व्यापार चाडबाडका बेला हुनुपर्ने जति नभएको व्यापारीको भनाइ छ । कपडा व्यवसायी संघ विराटनगरका उपाध्यक्ष नन्दकुमार जाजुले कुर्ताशुरूवाल, कट्टुलगायत कपडामा भन्सार महशुल २० प्रतिशतसहित मूल्य अभिवृद्धिकर तिर्नुपर्ने हुँदा पारिको तुलनामा वारि महँगो पर्छ । ‘अनि ग्राहक कपडा किन्न पारि जान्छन्,’ जाजु भन्छन्, ‘त्यही सामानको अनियन्त्रित अवैध आयातले स्थानीय बजारमा कारोबार ठप्प हुँदा व्यवसायी पलायन हुँदै गएका छन् ।’
उनका अनुसार सरकारले चालू वर्षदेखि सुती कपडामा १० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लागू गरेपछि एक मीटर कपडा किन्न पनि उपभोक्ता पारि नै पुग्न थालेका छन् । राजस्वकै कारण कपडाको तस्करी झन् मौलाउँदा बजार प्रभावित भएको उनको गुनासो छ ।
विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जारा आम उपभोक्तालाई जागरुक बनाउन राज्यले नै कदम चाल्नुपर्ने बताउँछन् । नेपालमै उत्पादित वस्तुसमेत उपभोक्ताले जोगवनीमा किनिरहेका छन् । जोगवनीलगायत भारतीय सीमाक्षेत्रका बजारमा तौलमा सबैभन्दा बढी नेपाली उपभोक्ता ठगिने गरेको पनि उनले बताए ।
बञ्जारा सरकारले स्वदेशको माग, खपतलगायत विषयको अध्ययन गरेर नीतिगत सुधार गर्नुपर्ने बताउँछन् । ‘भन्सार दरमा सुधार गरे नेपाली बजारलाई चलायमान बनाउन सकिन्छ,’ उनले भने । आत्मनिर्भर भएका वस्तुको अनधिकृत आयातमा कडाइ तथा आत्मनिर्भर नभएका वस्तुको आयात शुल्क परिमार्जन गरेर बजार सुहाउँदो गर्न सरकारलाई उद्योगी व्यवसायीले पटकपटक सुझाए पनि सरकारले घोषित राजस्वका दर कायमै राखेर तस्करलाई संरक्षण गरेको विराटनगरका उद्योगी व्यवसायीको दाबी छ ।
स्थानीय बजारलाई चलायमान बनाउन निजीक्षेत्रले सरकारलाई जतिसुकै सुझाव र सल्लाह दिए पनि सुनवाइ नभएको उनीहरूको गुनासो छ । संघका उपाध्यक्ष विकास वेगवानी सरकारी नीतिकै कारण उपभोग्य सामान किन्न ग्राहक सीमापारि जान बाध्य हुँदा स्थानीय बजार सुनसान भएर व्यवसायी भाग्ने स्थिति आएको बताउँछन् ।
अहिले सबैभन्दा बढी अवैध आयात भइरहेको वस्तु चिनी हो । नेपालमा चिनीको वार्षिक खपत ३ लाख मेट्रिक टन छ । तर, नेपालका उद्योगको कुल उत्पादन क्षमता ८० हजारदेखि १ लाख टन मात्र छ । बाँकी चिनी भारतबाट अनधिकृत रूपमा आयात हुने गरेको व्यवसायी बताउँछन् । चिनी किन्न उपभोक्ता पारि पुग्ने र फर्किंदा आवश्यक सबै उपभोग्य वस्तु ल्याउने चलन बढेसँगै स्थानीय बजारमा ग्राहकको खडेरी परेको व्यवसायीको भनाइ छ ।
खुद्रा व्यापार संघका अध्यक्ष सञ्जय मण्डलले अघिल्ला वर्षमा जस्तै यसपटक पनि दशैंमा विराटनगर बजारमा भीडभाड नरहेको बताए । सरकारले भन्सार दरमा गरेको अत्यधिक वृद्धिका कारण ग्रीन च्यानलबाट आउनुपर्ने सामानसमेत चोरी भएर नेपाली बजारमा आउने गरेको र त्यसको उचित अनुसन्धान तथा कारबाहीमा राज्य चुक्दा नेपाली बजार महँगो र भारतीय बजार सस्तो हुन पुगेको उनको भनाइ छ ।
उनले स्थिर बैंक ब्याज, स्थिर अर्थनीति र भन्सार दरमा फेरबदल गरे मात्र नेपाली बजारले भारतीय सीमावर्ती बजारसँग प्रतिस्पर्धा गर्न सक्ने उनले बताए । मण्डल सारी, कुर्ताशुरूवाल जस्ता कपडामा ४० प्रतिशतसम्म भन्सार लाग्ने भएकाले ती सामान भन्सारको ग्रीन च्यानलबाट नआई चोरीको बाटो नेपाल आउने गरेको दाबी गर्छन् । जोगवनी बजार र नेपाली बजारमा किलोमा नै ५०/६० रुपैयाँ फरक हुनु र चामलमा एक बोरामै ५०० रुपैयाँ फरक पर्नाले उपभोक्तालाई यता रोक्न नसकिएको उनले बताए ।
चिनीको माग तस्करी गरेर भित्त्याइएकोले नै धानेको छ । नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो ९५ देखि १०० रुपैयाँ छ । सीमापारिका बजारमा ६५ रुपैयाँमा पाइन्छ । किलोमा झन्डै ३५ रुपैयाँ मूल्य अन्तरका कारण चिनीको अनधिकृत आयात मौलाएको राठीको भनाइ छ । विराटनगरवाट ३० रुपैयाँ भाडा तिरेर चिनी किन्न जोगवनी पुग्ने उपभोक्ताले जिरा, लत्ताकपडा, सर्फ, साबुन, खानेतेललगायत आवश्यक दैनिक उपभोग्य वस्तु पनि ल्याउँछन् ।
मण्डल विराटनगरका पसलमा ग्राहक नै नभएपछि व्यवसायी पलायन हुनुको विकल्प नरहेको बताउँछन् । ‘विराटनगरका अधिकांश व्यापारी सटर बन्द गरेर धमाधम पलायन हुन थालेका छन्,’ उनले आर्थिक अभियानसँग भने ।