जनकपुरधाम । मधेश प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयले मधेश प्रदेशमा दुग्ध उत्पादन बढाउन प्रदेशको अर्थिक वर्ष २०८१/८२ को बजेटमा नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेयले दुग्ध विकास संस्थान जनकपुरधाम दुग्ध वितरण आयोजना ढल्केवरमा आबद्ध १२ हजार किसान लगायत प्रदेश भरिका दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि मन्त्रालयले नयाँ कार्यक्रम ल्याउन लागेको बताए ।
प्रदेशभरि दूध तथा दुग्धजन्य उत्पादनको माग बढिरहेकोले उपभोक्तालाई गुणस्तरीय दूध उपलब्ध गराउने दायित्व सबैको भएको उनको भनाइ छ । किसानले उत्पादन गरेको दूध दुग्ध सहकारी वा दुग्ध विकास संस्थान (डीडीसी)मार्फत विक्री गर्दा कृषकको भुक्तानी समयमा हुने प्रावधान बनाउने बेला रहेको सचिव पाण्डेयले बताए । दूध उत्पादन बढाउन किसानलाई पशुको खानपानबारे सचेतना जगाउनुपर्ने बताए ।
प्रदेशमा मन्त्रालयले किसानको समस्यालाई ध्यानमा राखेर आगामी आर्थिक वर्षदेखि पशुपन्छी स्वास्थ्य बीमा कार्यक्रम ल्याउन लागिएको उनले बताए । डीडीसीको पूर्वाधार र क्षमता अहिले पनि पुरानै रहेकाले यसलाई थप क्षमतावान् बनाउन संघीय सरकारको ध्यान पुग्नुपर्ने उनको सुझाव छ ।
यता, दुग्ध विकास संस्थान जनकपुरधाम दुग्ध विकास आयोजना ढल्केवरले गतवर्षको तुलनामा यस वर्ष दुग्ध वस्तुको विक्री बढेको बताए । आयोजनाका प्रमुख दिनेशकुमार जोशीले आयोजनाले दैनिक १५ सय लिटर दूध, १२ सय किलो दही, २५ किलो आइसक्रिम र ३० किलो पनिर विक्री गर्दै आएको बताए । आयोजनाले चालू अर्थिक वर्ष २०८०/८१ को माघ महीनासम्मको रू. १ करोड ३१ लाख रुपैयाँ किसानलाई भुक्तानी गरिसकिएको प्रमुख जोशीले बताए । आयोजनाले दैनिक २ लाख रुपैयाँ बराबरको दुग्ध वस्तुको विक्री वितरण गरिँदै आएको जोशीले बताए । पछिल्लो समय आयोजनाले प्रतिमहीना रू. १ लाख २० हजार बराबरको घिउ खरीद गर्दै आएको छ ।