काठमाडौं । पछिल्लो समय अविमोच्य प्रकृतिको अग्राधिकार शेयर जारी गर्न राष्ट्र बैंकबाट अनुमति पाएका कम्पनीहरूले यस्तो शेयर नेपाल धितोपत्र बोर्डमा दर्ताको स्वीकृति पाएका छैनन् । धितोपत्र बोर्डमा दर्ता भएपछि ती शेयर सम्बन्धित कम्पनीहरूले विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । तर, केही कम्पनीहरूले सर्वसाधारणतर्फको शेयरमा परिणत नहुने गरी अग्राधिकार शेयर जारी गर्न लागेकोले उक्त शेयर दर्ता गर्ने सम्बन्धमा कानूनी अन्योल रहेको बोर्डका अधिकारीहरू बताउँछन् ।
यसअघि विभिन्न कम्पनीले जारी गरेका अग्राधिकार शेयर निश्चित अवधिपछि सर्वसाधारण शेयरमा परिणत हुने व्यवस्था थियो । बोर्डका एक उच्च अधिकारीले पछिल्लो समय जारी हुने अग्राधिकार शेयर सर्वसाधारण शेयरमा परिवर्तन नहुने प्रकृतिको भएकाले यसअघिको कानूनी व्यवस्थाले स्वीकृति दिन मिल्ने कि नमिल्ने भन्नेमा अन्योल रहेको बताए । ‘केही समय यसमा अध्ययन गरेपछि मात्र निर्णय गर्नेछौं,’ ती अधिकारीले भने ।
नेपाल राष्ट्र बैंकबाट अविमोच्य प्रकृतिको अग्राधिकार शेयर जारी गर्न कामना सेवा विकास बैंक र नबिल बैंकले अनुमति पाएका छन् । कामना सेवाले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता र नबिलले ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता अग्राधिकार शेयर जारी गर्न राष्ट्र बैंकबाट अनुमति पाएको छ ।
गत असार १७ गते बसेको कामना सेवा विकास बैंकको सञ्चालक समिति बैठकले ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी निर्णय गरेको हो । अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गत असोज ३० गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारणसभाबाट पारित भइसकेको छ । बोर्डको स्वीकृतिका आधारमा व्यक्तिगत तवरबाट वा सार्वजनिक निष्कासनमार्फत अग्राधिकार शेयर विक्री गर्ने तयारीमा कामना सेवा छ ।
त्यस्तै, नबिल बैंकले जारी गर्न लागेको अग्राधिकार शेयरको लाभांश दर ८ प्रतिशत कायम गरिएको छ । उक्त अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन नहुने बैंकको भनाइ छ । मुनाफा भएको वर्षमात्र लाभांश वितरण गर्ने गरी नबिलले अग्राधिकार शेयर जारी गर्न लागेको हो । यी दुई कम्पनीलाई नेपाल धितोपत्र बोर्डले उक्त शेयर पहिला बोर्डमा दर्ता गर्ने अनुमति दिएमात्र अग्राधिकार शेयर जारी गर्ने बाटो खुला हुनेछ ।
कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले राष्ट्र बैंकले धितोपत्र बोर्डबाट शेयर दर्ताको स्वीकृति लिएर मात्र अग्राधिकार शेयर विक्री गर्न निर्देशन दिएबमोजिम बोर्डमा दर्ताका लागि प्रक्रिया अघि बढाए पनि ढिलाइ भइरहेको बताए ।
बोर्डले अग्राधिकार शेयर दर्ता स्वीकृतिका लागि प्राविधिक कारण देखाई ढिलाइ गरिरहेको उनको भनाइ छ । धितोपत्र बजारमा समेत विविधीकरण ल्याउने अग्राधिकार शेयर सूचीकरणमा नियामकले बाटो खोलिदिनुपर्ने थकाली बताउँछन् ।
आफूलगायत अन्य आधा दर्जन कम्पनी अग्राधिकार शेयर जारी गर्ने तयारीमा रहेकाले बोर्डले जतिसक्दो चाँडो निकास पहिल्याउनुपर्ने थकालीले बताए । अग्राधिकार शेयरको दर्ताबाट धितोपत्र बजारमा लगानीकर्तालाई लगानीका लागि वैकल्पिक औजारको विकास हुने उनी बताउँछन् । नियामक निकायले अग्राधिकार शेयरबाट बजारमा पर्ने सकारात्मक प्रभावलाई ध्यानमा राखी निकास पहिल्याउने उनको अपेक्षा छ ।
कामना सेवा विकास बैंक हाल ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ चुक्ता पूँजी भएको कम्पनी हो । नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ छ । यी दुवै बैंकले लाभांश वितरणलाई निरन्तरता दिँदै आएका छन् ।
विगत वर्षहरूमा वाणिज्य बैंकहरूमध्येकै सर्वाधिक लाभांश वितरण गरेको नबिलले पछिल्ला दुई आर्थिक वर्षमा भने कम लाभांश दिएको छ । नबिलले आर्थिक वर्ष २०७९/८० मा ११ र २०८०/८१ मा १० प्रतिशत नगद लाभांश दिएको हो । त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा यसले ३० प्रतिशत लाभांश दिएको थियो ।
कामना सेवाले पनि आर्थिक वर्ष २०७८/७९ सम्म निरन्तर लाभांश वितरण गरेकोमा आर्थिक वर्ष २०७९/८० मा लगानीकर्ताको हात खाली बनाएको थियो । गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कम्पनीले ७ प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको छ ।
यी कम्पनीले निष्कासन गरेका शेयरमध्ये प्रतिफलका आधारमा अग्राधिकार शेयर अग्रस्थानमा रहनेछ । अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र बाँकी शेयरधनीलाई बाँडिन्छ । अग्राधिकार शेयर जारी गर्दा लाभांश दर तोकेर जारी गरिने भएकाले घटीबढी गर्न पाइँदैन । साधारण शेयर बापतको लाभांश बढी वा कम हुने भए पनि कामना सेवाले ९ प्रतिशत र नबिलले ८ प्रतिशत लाभांश दर तोकेर जारी गर्ने अग्राधिकार शेयरमा मुनाफा भएको वर्ष सोही दरमा लाभांश दिनुपर्ने हुन्छ ।