काठमाडौं । आगामी आइतवारदेखि दुई कम्पनीको धितोपत्र विक्री खुला हुने भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ र एभरेष्ट बैंकको ऋणपत्र विक्री खुला हुने भएको हो ।
स्वरोजगार लघुवित्तको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ अंकित मूल्यमा निष्कासनमा आउनेछ । यस कम्पनीको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदकले फागुन २१ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् । उक्त एफपीओ खरीदका लागि मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
त्यस्तै एभरेष्ट बैंकले १० वर्ष अवधिका लागि ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा विक्री खुला गर्नेछ । कुल कित्तामध्ये १२ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी रहेको १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्ने जनाइएको छ ।
वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ नामक ऋणपत्र निष्कासन हुन लागेको हो । यसको अंकित मूल्य प्रतिकित्ता रू. १ हजार छ । यो ऋणपत्र खरीदका लागि पनि मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण (१२ लाख) कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासन बन्द छिटोमा फागुन २१ गते हुनेछ । सो अवधिमा सम्पूर्ण कित्ता विक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जानकारी दिएको छ ।