काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को दुई महीनामा जीवन बीमा कम्पनीहरूले रू. ३० अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तीन लघुबिमा कम्पनीसहित १७ जीवन बीमा कम्पनीहरूले कुल रू. ३० अर्ब १५ करोड ७८ लाख बीमा शुल्क आर्जन गरेका हुन् ।
बीमा प्राधिकरणका अनुसार हाल सक्रिय रहेको कुल जीवन बीमालेखको संख्या १ करोड ३७ लाख ८४ हजार १ सय छ ।
१७ बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । यस कम्पनीले दुई महीनामा कुल रू. ९ अर्ब ३ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू. ३ अर्ब ५८ करोड बीमाशुल्क आर्जन गरेको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले भदौ मसान्तसम्ममा रू. ३ अर्ब ३० करोड, हिमालयन लाइफले रू. ३ अर्ब १० करोड, सूर्यज्योति लाइफले रू. १ अर्ब ८४ करोड, एशियन लाइफले रू. १ अर्ब ४७ करोड र सिटिजन लाइफले रू. १ अर्ब २७ करोड बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै लघुबीमातर्फ गार्डियन माइक्रो लाइफले भदौ मसान्तसम्ममा रू. ३ करोड ३३ लाख बीमाशुल्क आर्जन गरेको छ । क्रेष्ट माइक्रो लाइफले रू. २ करोड ६३ लाख र लिवर्टी माइक्रो लाइफले रू.९९ लाख बीमाशुल्क आर्जन गरेका छन् ।