काठमाडौं । दूध बेचेको पैसा उठाउन धान रोपाइँ छाडेर देशभरका किसान काठमाडौंको सडकमा आइपुगेका छन् । डेरी उद्योगीलाई दूध बेचेबापत ६ लाख किसानले ७ महीनादेखिको करीब ४ अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । त्यही पैसा उठाउन धान रोप्न छोडेर आन्दोलन गर्न किसान काठमाडौं आएका हुन् ।
किसानको पैसा दिन डेरी उद्योगी र सरकारबीच यसअघि पटकपटक सम्झौता भइसकेको छ । तर, उद्योगीले सम्झौताको बेवास्ता गरिरहेको आन्दोलनरत किसानले आरोप लगाएका छन् ।
गएको मङ्सिर २६ मा बक्यौता भुक्तानी गर्ने सहमति भए पनि कार्यान्वयन नभएको किसानको गुनासो छ । फेरि फागुन १९ मा अर्को सम्झौता भयो । २०८० पुससम्मको बक्यौता चैत २१ सम्म दिइसक्नुपर्ने पछिल्लो सहमति पनि कार्यान्वयन नभएपछि आन्दोलनमा आउनुपरेको किसानले बताएका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरी उद्योगले गरी आफूहरूको करीब ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानको भनाइ छ । डीडीसीले मात्रै किसानको करीब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
आन्दोलनको नेतृत्व गरिरहेका केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटाले असारको महीना धान रोपाइँका लागि खेतमा हुनुपर्ने किसान उधारोमा बेचेको दूधको पैसा उठाउन सडक आन्दोलनमा आउनुपर्ने बाध्यता सृजना हुनुले कृषिप्रधान देशको अवधारणालाई गिज्याइरहेको बताए । ‘एकातिर सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत भर्खरै मात्र कृषिमा लगानी दशक घोषणा गरेको छ । तर, लाखौं रुपैयाँ लगानी गरेर उत्पादनमा लागेका किसानलाई सरकारले पलायनको बाटो देखाइरहेको छ । यो एक कृषिप्रधान देशका लागि ठूलो विडम्बना हो,’ उनले आर्थिक अभियानसँग भने ।
आन्दोलनका लागि मेचीदेखि महाकालीसम्मका करीब ५०० किसान यतिबेला काठमाडौंमा छन् । भुक्तानीका लागि दबाब दिन भन्दै बुधवार लैनचौरस्थित डीडीसीको कार्यालय घेराउ र तालाबन्दी गर्न पुगेका किसानलाई प्रहरीले धरपकड गर्दै पक्राउसमेत गरेको थियो । पक्राउ परेका किसान केही समयपछि रिहा भएका थिए । २०८० वैशाखदेखि नै दुग्धपदार्थको मौज्दात बढ्दै जाँदा भुक्तानीमा समस्या आएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार २०८० वैशाखदेखि चैतसम्ममा ५ अर्ब रुपैयाँ बराबरको १ हजार ४०० मेट्रिक टन बटर र ४ हजार ८०० मेट्रिक टन धूलो दूध मौज्दात छ । अझै मौज्दात थपिने क्रम जारी रहेको बोर्डले बताएको छ ।
उपभोग घटेर मौज्दात थपिँदै जाँदा भुक्तानीमा समस्या भएको नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले बताए । दुग्ध पदार्थको उपभोग बढाउन सरकारले घिउ विक्रीमा लगाउँदै आएको १३ प्रतिशत भ्याट हटाउनुपर्ने, दुग्ध पदार्थ सस्तो बनाउन डेरी उद्योगीलाई बिजुली उपभोगमा ५० प्रतिशत सहुलियत दिनुपर्ने र दुग्ध पदार्थ निर्यातमा अनुदान दिनुपर्ने उनले बताए । ‘यद्यपि, मौज्दात बाँकी रहेको अवस्थामा पनि हामीले किसानको भुक्तानी बाँकी नराख्न र चाँडोभन्दा चाँडो भुक्तानी गरिदिन उद्योगीहरूलाई पटकपटक पत्रचार गरेका छौं,’ उनले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले मन्त्रालयले किसानको भुक्तानी दिलाउन पटकपटक समन्वय गरिरहे पनि त्यसले मूर्त रूप लिन नसकेको स्वीकार गरिन् । किसानका माग सम्बोधनको विषय कृषि मन्त्रालयदेखि अर्थ र उद्योग मन्त्रालयसम्म जोडिएकाले प्रक्रिया लामो भएको उनले बताइन् । यसले गर्दा पटकपटक किसान प्रतिनिधि र कृषिमन्त्रीबीच वार्ता भए पनि समाधान निस्कन नसकेको उनले बताइन् ।