काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म २ अर्ब ६० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष साढे ३२ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको वितरणयोग्य नाफा करिब ३४ प्रतिशत बढी कायम भएको छ । गत वर्षसम्म २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा यस वर्ष ३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।
कम्पनीको चुक्तापूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ छ भने जगेडा कोष रकम १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म कम्पनीको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म २ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ७० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ६४ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म ३५ रुपैयाँ ६१ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २३५ रुपैयाँ ४७ पैसा कायम भएको छ ।