काठमाडौं । रातो इँटाको विकल्पका रूपमा आएको (अटोक्लेभ एरेटेड कंक्रिट–एएसी) ब्रिकको प्रयोग नेपालमा पनि बढ्दो क्रममा रहेको यसका उत्पादकहरूले बताएका छन् । फलस्वरूप यस्तो उद्योगको संख्या र लगानी पनि बढदो क्रममा रहेको उत्पादकहरूको भनाइ छ । रातो इँटा माटोबाट बनाइन्छ भने मूलत: सिमेन्ट र बालुवा प्रयोग गरेर एएसी ब्रिक/ब्लक बनाइन्छ ।
हाल एएसी ब्रिक/ब्लक बनाउने विभिन्न नौओटा उद्योग रहेको र थप तीनओटा उद्योग थपिने क्रममा रहेका यी उद्योगको छाता संस्था एएसी ब्रिक उत्पादक संघले बताएको छ । संघले जारी गरेको एक प्रेस विज्ञप्तिअनुसार यस्ता उद्योगमा निजीक्षेत्रले ५ अर्ब रुपैयाँ लगानी गरेको छ । सन् १९२९ मा स्वीडेनमा व्यावसायिक उत्पादन गरिएको एएसी इँट्टाको प्रयोग नेपालमा पनि विगत १० वर्षदेखि हुन थालेको छ । यस्तो इँट्टा बनाउँदा सिमेन्ट र बालुवामा एक किसिमको केमिकल प्रयोग गरेर फुलाइने हुँदा त्यसको तौल हलुका हुन्छ । वातावरणमैत्री, हलुका, निर्माण खर्च पनि कम हुने भएकाले पछिल्लो समय यसको प्रयोग बढेको संघका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए ।
एएसी इँट्टा सिमेन्ट र बालुवाका साथै ८० प्रतिशत कच्चा पदार्थ स्वदेशी नै प्रयोग हुने संघले बताएको छ । यस्तो इँट्टाको गारो लगाउने मापदण्डलाई सरकारले गत मङ्सिर ६ गते स्वीकृति दिइसकेको पाण्डेले बताए । रातो इँटाको विकल्पको रूपमा रहेको तर कृषि उब्जाउ हुने माटोको प्रयोग नहुने भएकाले वातावरणमैत्री, हलुका र निर्माणमा खर्चसमेत कम लाग्ने पाण्डेको भनाइ छ । ।
संघका अनुसार हाल स्वदेशमा एएसी ब्लकको कुल जडितक्षमता २ हजार २०० घनमीटर प्रतिदिन रहेको छ । उक्त परिमाण वर्षमा ४५ करोड गोटा रातो इँटा बराबर हुन आउने संघले उल्लेख गरेको छ । नेपालमा १० वर्षदेखि विभिन्न उद्योगले फरक/फरक ब्रान्डमा एएसी ब्लक उत्पादन गरिरहेका छन् । एएसी ब्लक जर्मन प्रविधिमा आधारित हलुका, अग्नि, ध्वनि र ओसप्रतिरोधक, वातावरणमैत्री निर्माण सामग्री रहेको उल्लेख गरिएको छ ।
यस्तै नेपाल नापतौल तथा गुणस्तर विभागले पनि एएसी ब्लकलाई निर्माण सामग्रीका रूपमा स्वीकृति दिएर नेपाल गुणस्तरसमेत निर्धारण गरेको छ । कतिपय उद्योगले गुणस्तर प्रमाणपत्रसमेत पाइसकेको संघले जानकारी दिएको छ ।
संघका अनुसार एएसी ब्रिक/ब्लकबाट संरचना निर्माण गर्दा बजारमा पाइने सामान्य रातो इँटा वा ब्लककोे तुलनामा १० देखि १५ प्रतिशतसम्म कम लागत पर्छ । स्वदेशमा उत्पादित एएसी ब्रिक/ब्लक नेपालमा खपत भई धेरै भएमा विदेशमा समेत निर्यात गर्न सकिने सम्भावना रहेको उल्लेख गरिएको छ । बजारमा अहिले एएसी ब्रिक/ब्लकको अंश ६ देखि ८ प्रतिशत रहेको बताइन्छ ।