विराटनगर । दुई उद्योगी दिनेश ठाकुर र रञ्जित भगतले विराटनगरको बुढीगंगा गाउँपालिका–२ वाइपास रोडमा एक अर्ब रुपैयाँको लगानीमा अन्तरराष्ट्रिय स्तरको औषधि उद्योग ‘एलेक्सा लाइफसाइन्स’ स्थापना गरेका छन् । नेपालको उच्च गुणस्तरीय औषधि उत्पादन केन्द्र बनाउने लक्ष्यसहित उद्योग स्थापना गरिएको हो । उद्योगले उत्पादन समेत शुरू गरेको छ ।
उद्योगमा एभरेष्ट बैंकको ६० करोड रुपैयाँ कर्जा लगानी रहेको छ । उद्योगले जर्मन प्रविधिका अत्याधुनिक मेसिन प्रयोग गरी गुणस्तरीय औषधि उत्पादन गर्ने योजना बनाएको छ ।
एलेक्सा लाइफसाइन्सले नेपाली बजारमा सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले देशभर औषधिको आयात निर्भरता घटाउन मद्दत गर्नेछ भने दीर्घकालमा विदेशमा पनि औषधि निर्यात गर्ने योजना छ । उद्योग स्थापनाका लागि पाँच वर्षदेखि अध्ययन र योजना बनाइएको थियो । उद्योगले १५० जनालाई प्रत्यक्ष रोजगारी दिने ठाकुरले बताए ।
दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि र प्रभावकारी व्यवस्थापन प्रणाली अपनाएर अन्तरराष्ट्रिय मापदण्ड अनुरूप औषधि उत्पादन गर्ने दाबी उद्योगको छ । एलेक्साले नेपाली बजारमा गुणस्तरीय औषधि सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको ठाकुरले बताए । स्वदेशी उत्पादन बढाई औषधिको आयातमा कमी ल्याउने र दीर्घकालीन रूपमा औषधि निर्यात गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनु आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ ।
उद्योगले पहिलो चरणमा एलभीपी १०० एमएलदेखि तीन हजार एमएलसम्म र दोस्रो चरणमा एसभीपी औषधि उत्पादन गर्नेछ, जसअन्तर्गत एक एमएलदेखि २० एमएलसम्मका औषधि तयार पारिने जनाइएको छ । तेस्रो चरणमा भने आँखाको औषधि र कानको औषधि उत्पादन गरिने ठाकुरले बताए । उद्योगले आगामी तीन वर्षभित्र नेपालको औषधि बजारको २० प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ ।