काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एक विज्ञप्ती जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता गरिएको तथा वर्तमान प्रधानमन्त्रीले राजिनामा गरि नयाँ राष्ट्रिय सहमतीको सरकार निर्माण गर्न मार्ग प्रसस्त गर्न भनेका छन् ।
नेकपा एमालेको यो निर्णय संगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सहभागितामा बनेको गठबन्धन सरकार अल्पमतमा परेको छ । सरकारको मुख्य ठूलो घटक एमालेले सोमवार मध्यरातमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेससंग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमती गरेको थियो ।
नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदारी गर्दै आएको एमालेले पछिल्लो बजेट माओवादीको मात्रै भएको भन्दै असन्तुष्टि राख्दै आएको थियो । यससँगै एमाले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति, राजदूत नियुक्तिप्रति असन्तुष्ट थियो भने सरकारका गृहमन्त्री लामिछानेको कार्यशैलीप्रति पनि रूष्ट थियो ।