काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नयाँ योजना सञ्चालनका लागि आजदेखि इकाई जारी गरेको छ । क्यापिटलले १२ वर्षे अवधिको बन्दमुखी प्रकृतिको एमबीएल इक्विटी फण्ड सञ्चालनका लागि इकाई जारी गरेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई जारी गर्न लागेको हो । फण्डले १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्द्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताहरूले यी इकाई खरीदका लागि न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
यी इकाई फागुन २६ गतेसम्म निष्कासनमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने चैत ७ गतेसम्म निष्कासन लम्बिने जानकारी योजना व्यवस्थापकले दिएको छ । योजना व्यवस्थापकसँगै यी इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत क्यापिटलले पूरा गर्नेछ ।
लगानीकर्ताहरूले इकाई खरीदका लागि योजना व्यवस्थापकको कार्यालयसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।