काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटडले नयाँ योजना सञ्चालनका लागि फागुन २२ गतेदेखि निष्कासनमा ल्याएको इकाई खरीदका लागि आजसम्म मात्र आवेदन दिन सकिनेछ । क्यापिटलले १२ वर्षे अवधिको बन्दमुखी प्रकृतिो एमबीएल इक्विटी फण्ड नामक इकाई सञ्चालनका लागि इकाई जारी गरेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई जारी गर्न लागेको हो । फण्डले १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवद्र्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई निष्कासनमा ल्याएको हो । सर्वसाधारण लगानीकर्ताहरुले यी इकाई खरीदका लागि न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
छिटो अवधि फागुन २६ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि कम्पनीले ढिलो अवधि चैत ७ गतेसम्म इकाई निष्कासन गरेको हो । योजना व्यवस्थापकसँगै यी इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत माछापुच्छ्रे क्यापिटलले पुरा गर्नेछ । लगानीकर्ताहरुले इकाई खरीदका लागि योजना व्यवस्थापकको कार्यालयसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।