काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र ईकमर्स कम्पनी सस्तोडिल बीच मंगलवार लगानी सम्झौता भएको छ । उक्त सम्झौतामा एनआईबिएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका हुन्।
सम्झौता पछि एनआईबिएल एसका प्रमुख कार्यकारी अधिकृत पाँडेले ईकमर्सले संसारभरिका विभिन्न मुलुकको अर्थतन्त्र र व्यवसायमा ल्याउन सक्ने आमूल परिवर्तन स्थापित भइरहेको अवस्थामा नेपालमा पनि सो परिवर्तन ल्याउन सस्तोडिल सक्षम रहेको बताए ।
उक्त अवसरमा सस्तोडिलका संस्थापक तथा सीईओ अमुन थापाले एनआईबिएल एस क्यापिटल जस्तो प्रतिष्ठित संस्थासंग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । त्यस्तै, डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा सीईओ टिम गोचरले एनआईबीएल एसको लगानीले सस्तोडिलको सम्भावनालाई प्रकाश पार्नुको साथै स्थानीय स्तरमा हुने लगानीले सस्तोडिलको ब्यवसाय बृद्धिमा थप टेवा पुग्ने बताए ।
सस्तोडिलको प्ल्याटफर्महरुका १ करोडभन्दा बढी प्रयोगकर्ताहरूका साथै फ्ल्पि कार्ट तथा मिन्त्रा जस्ता अन्तरराष्ट्रिय ख्याति प्राप्त रणनीतिक साझेदारहरू रहेका छन् । साथै लाखौं ग्राहकहरू, सयौं ब्रान्डहरू र विक्रेताहरू समेत आवद्ध छन् ।
कम्पनीले नेपालभरका ३ हजार ५०० अति साना र साना तथा मझौला उद्योगहरुलाई सूचना मैत्री बनाउन साझेदारी गरेको छ । कोभिड १९ पछि, सस्तोडिलले नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समेत सहकार्य गर्दै आएको छ।