काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा मंगलवार (आज) सम्पन्न भएको छ । काठमाडौंको थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा सभा सम्पन्न भएको हो ।
सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (करसहित)का दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ ।
सभामा सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले कम्पनीले समीक्षा अवधिमा रु. ३० करोडभन्दा बढी आम्दानी गरी रु. १२ करोड १६ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । कम्पनीको चुक्ता पूँजी रु. २० करोड छ ।
त्यसैगरी व्यवसायतर्फ २०८१ असार मसान्तसम्म ७ लाख ३९ हजार ८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवाअन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजना मार्फत रु. ५ अर्ब ५२ करोडभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।
लगानी व्यवस्थापन सेवाअन्तर्गत ७०४ जना ग्राहकबाट रु. २ अर्ब ११ करोडभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको उक्त कम्पनीले शेयर रजिष्ट्रार सेवाअन्तर्गत २४ ओटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत १७ ओटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको छ ।
साथै क्यापिटलले आठौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांशसहित आफ्ना शेयरधनीलाई हालसम्म २४० प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको उनले जानकारी दिए ।