काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुनसरीको धरानस्थित गोर्खा होटेलमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साविक स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडतर्फको संस्थापकतर्फ योग्य रहेको शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने भएमा त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।
यस वर्ष लाभांश प्रस्ताव भने गरिएको छैन । आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत १५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।