काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले फागुन १८ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायत शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुनेछ ।
कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो । कम्पनीको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ ।
यस कम्पनीले इलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ । कम्पनीले सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुगेको छ ।