काठमाडौं । नेपालका बाख्रापालक र गाईपालक किसान अधिक संख्यामा जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको एक सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले हालै गरेको अध्ययनअनुसार बाख्रापालनमा संलग्न ५ लाख घरधुरी किसान जलवायु परिवर्तनको अत्यधिक जोखिममा छन् । बाख्रापालन गर्ने १० लाख घरधुरी किसान अधिक जोखिममा र त्यत्ति नै घरधुरी किसान मध्यम जोखिममा रहेको अध्ययनले देखाएको छ । यो केन्द्र राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको संस्था हो ।
त्यसैगरी गाईपालन गर्ने भने ३ लाख घरधुरी किसान अत्यधिक जोखिममा छन् । १० लाख घरधुरी किसान अधिक जोखिममा छन् भने थप १० लाख घरधुरी किसान मध्यम जोखिम छन् ।
‘पशुपालनमा जलवायु परिवर्तनको असर भन्नाले जस्तै अहिले हिमाली भेगमा पनि पहिलाको तुलनामा तापक्रम बढिरहेको छ जसले गर्दा चौरीको दूध उत्पादनमा कमी आएको हाम्रो प्रारम्भिक अध्ययनमा देखाएको छ,’ अध्ययनमा संलग्न केन्द्रका वैज्ञानिक डा. रोशनबाबु ओझाले मंगलवार आयोजित एक कार्यक्रममा भने । उनका अनुसार किसानको तहमा अझै पनि जलवायु अनुकूलताको प्रविधि पुग्न नसक्दा जोखिम बढेको हो ।‘
तुलनात्मक रूपमा बाख्रा र गाईपालन गर्ने किसानको तहमा अनुकूलनको प्रविधि कम पुगेको कारण उनीहरू बढी जोखिममा परेका हुन् । तर, भैंसीपालक किसान अधिक रूपमा मध्यम जोखिम र कम जोखिममा छन् । धान र गहुँखेती गर्ने घरपरिवार अत्यधिक र अधिक जोखिममा त्यति धेरै नभए पनि मध्यममा जोखिम बढी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
जलवायु परिवर्तनको मात्रा हरेक वर्ष बढ्दै जाँदा त्यसले कृषि उत्पादनमा समेत असर पार्ने अध्ययनले बताएको छ । तराईमा उत्पादन हुने बाली वा फलफूल अहिले पहाडी क्षेत्रमा समेत उत्पादन हुन थालेका छन् ।
समयभन्दा अगावै आँपमा फूल लाग्नु, तराईमा फल्ने फल पहाडमा समेत फल्नु, पहाडमा फल्ने बाली तराईमा समेत उत्पादन हुनु सबै जलवायु परिवर्तनको प्रकोपका कारण भएको अध्ययनमा उल्लेख छ । यसले गर्दा उत्पादन घट्ने सम्भावना अत्यधिक हुने अर्का कृषि वैज्ञानिक डा. ध्रुवराज भट्टराईले जानकारी दिए ।
तापक्रम बढ्दा त्यसको सबैभन्दा धेरै असर तराई क्षेत्रमा परेको अध्ययनको निष्कर्ष छ । ‘किनभने १/२ डिग्री सेल्सियस मात्रै तापक्रम बढ्दा पनि त्यसले तुलनात्मक कम तापक्रममा उब्जनी हुने बालीनाली उत्पादनमा ठूलो असर पार्न सक्ने खतरा छ,’ भट्टराईले भने । उनका अनुसार बढ्दो जलवायु परिवर्तनको असरका कारण यस वर्षको हिउँदमा तुलनात्मक रूपमा कम वर्षा भयो । ‘यसले गर्दा यसपटकको हिउँदेबालीमा ३० प्रतिशतसम्म उत्पादन घट्न सक्ने अनुमान गरिएको छ,’ उनले बताए ।
अध्ययन प्रतिवेदनअनुसार नेपालमा जलवायुजन्य प्रकोप प्रत्येक वर्ष १७ प्रतिशतले वृद्धि हुँदै गएको पाइएको छ । केन्द्रका अनुसार जलवायु अनुकूलन नक्सांकनको प्रारम्भिक अध्ययनको नतिजाअनुसार सन् १९७० यता नेपालमा हरेक वर्ष जलवायुजन्य प्रकोप १७ प्रतिशतका दरले बढ्दै गएको देखिएको हो ।
यो दर सन् २००० यता अझ तीव्र गतिमा वृद्धि भइरहेको उक्त अध्ययनले दाबी गरेको छ । अध्ययनअनुसार जलवायु परिवर्तनका कारण नेपालमा वर्षेनि ० दशमलव शून्य ६ डिग्री सेल्सियस दरले तापक्रम बढिरहेको छ भने १६ दशमलव शून्य ९ मिलमीटरका दरले वर्षा घटिरहेको छ ।