काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर २०७९ जेठ २ गते उद्घाटन भएको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक तीनओटा अन्तरराष्ट्रिय वायुसेवा (एयरलाइन्स) कम्पनीले उडान गर्ने भएका छन् ।
उद्घाटन भएको साढे २ वर्षमा यो विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा कम्पनी कुवेतको जजिरा, युनाइटेड अरब इमिरेट्स (यूएई)को फ्लाइ दुबई र थाइल्यान्डको थाई एयर एशियाले शनिवारदेखि उडान गर्दै छन् ।
कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द हुँदै छ । त्यसको भोलिपल्ट कात्तिक २४ र २५ गतेदेखि यो विमानस्थलबाट तीनओटा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले व्यावसायिक उडान गर्ने भएका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कात्तिक २४ (नोभेम्बर ९) देखि यो विमानस्थलमा व्यावसायिक उडान हुने भएको छ । उक्त दिन थाई एयर एशियाले व्यावसायिक उडान शुरू गर्नेछ । उक्त एयरलाइन्सले सोमवार र बिहीवार गरी साताको २ दिन नियमित रूपमा उडान गर्ने तालिका पाएको छ ।
थाई एयर एशियाले व्यावसायिक उडान गर्नुअघि उद्घाटन उडान गरिसकेको छ । विमानस्थलका महाप्रबन्धक तिवारीका अनुसार थाइल्यान्डको बैंककबाट आएको थाई एयर एशियाको जहाज आइतवार विहान ७ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेर सोही दिन बिहान ७ बजेर ४० मिनेटमा बैंकक प्रस्थान गरेको छ ।
कुवेतको एयरलाइन्स जजिरा एयरले पनि कात्तिक २४ गतेबाटै उडान गर्ने भएको छ । सातामा ३ दिन मंगलवार, बिहीवार र शनिवार उडान गर्ने गरी उक्त एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान तालिका स्वीकृत गराएको छ । त्यसअनुसार जजिराले कुवेत–गौतमबुद्ध–कुवेत सेक्टरमा उडान गर्दै छ । बिहान ७ बजेर ४५ मिनेटमा अवतरण भई बिहानकै साढे ८ बजे प्रस्थान गर्ने उडान तालिका जजिराले पाएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटनको दिनमै उडान शुरू गरेर जजिराले केही समय निरन्तरता दिएको थियो । कम्पनीले पछि उक्त विमानस्थलमा हुने उडान रोकेको थियो ।
गौतमबुद्ध विमानस्थलबाट उडान गर्न अर्काे अन्तरराष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले पनि अनुमति पाइसकेको छ । फ्लाई दुबईले कात्तिक २५ गते (नोभेम्बर–१०) देखि उडान गर्ने महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार फ्लाई दुबईले दैनिक उडान गर्नेछ । उसले कनेक्टिङ उडानको सुविधा लिएको छ ।
कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दिनमा १४ घण्टा मात्रै सञ्चालनमा आउने भएपछि प्रभावित हुने उडानलाई प्राधिकरणले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सार्न प्रोत्साहित गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कनेक्टिङ फ्लाइटको सुविधा दिने नीति ल्याइसकेको छ ।
अन्तरराष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी तीनओटा छन् । तिनीहरू राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, निजीक्षेत्रको हिमालय एयरलाइन्स र बुद्ध एयर (भारतमा मात्रै) हुन् ।
यीमध्ये नेपाल एयरलाइनस र हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएका छन् । नेपालीसहित ३० ओटा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स हुन् । त्यसपछि फ्लाई दुबईले धेरै उडान गर्छ । फ्लाई दुबईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गर्दै आएको साताको २८ उडानलाई प्राधिकरणले १४ मा झारिदिएको छ । उक्त एयरलाइन्सले उक्त उडान कटौतीपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्न लागेको हो ।
केही अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जान थाले पनि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भने नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन ।