काठमाडौं । अब घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट बुझाउनु नपर्ने भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी भएको निर्देशन २०८२ (पहिलो संशोधन) जारी गर्दै त्यस्तो व्यवस्था हटाएको हो ।
विभागले आइतवार पहिलो संशोधित निर्देशन जारी गर्दै घरजग्गा किनबेचमा खरीदकर्ता र विक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेश गर्नुपर्ने, केवाईसी भर्नुपर्नेलगायत पाँचओटा प्रावधान हटाएको छ ।
- अब १ करोड रुपैयाँभन्दा माथिका घरजग्गा कारोबारको विवरण राष्ट्र बैंकलाई दिनुपर्नेछ ।
घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट बुझाउनुपर्ने प्रावधान आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको थियो । व्यवसायीले समेत विरोध गरेका थिए । निर्देशन आएको १ हप्ता नबित्दै त्यसलाई संशोधन गरिएको हो । विभागले अनिवार्य बैंक स्टेटमेन्टको प्रावधान हटाए पनि ५० लाख रुपैयाँभन्दा माथिका घरजग्गा कारोबारलाई कडाइ गर्न खोजिएको छ । ‘घरजग्गा खरीद–विक्री कारोबार गर्दा १० लाखभन्दा माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ । तर, ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा विक्रीकर्ताका नाममा तयार गरिएको ‘गुड फर पेमेन्ट’ चेकमार्फत गर्नुपर्नेछ,’ पहिलो निर्देशनमा भनिएको थियो ।
विभागका अनुसार अब १० लाखभन्दा माथि ५० लाख रुपैयाँसम्मको घरजग्गाको खरीदविक्री गर्दा जुनसुकै प्रकारको भुक्तानी बैंकिङ उपकरणमार्फत गरी त्यसको प्रमाण बुझाउनु पर्नेछ ।
‘५० लाख रुपैयाँभन्दा माथिको घरजग्गा खरीद गर्दा क्रेताले बैंकबाट भुक्तानी गर्न गुड फर पेमेन्ट चेक वा बैंक ग्यारेन्टी वा इपेमेन्ट वा नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम तोकिएका भुक्तानीका अन्य उपकरणबाट भुक्तानी भएको प्रमाण वा विक्रेताको नाममा रहेको बैंक खातामा नगद रकम जम्मा गरेको बैंक भौचरको फोटोकपी खरीदकर्ता र विक्रीकर्ता दुवैले प्रमाणित गरी पेश गर्नु पर्नेछ,’ संशोधित निर्देशनमा उल्लेख छ ।
यसअघि ३ करोड वा सोभन्दा बढी रकमको घरजग्गा खरीद वा विक्री गर्दा कार्यालयले त्यसको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइमा पठाउनुपर्ने व्यवस्था थियो । अब १ करोड रुपैयाँभन्दा माथिका घरजग्गा कारोबारको विवरण राष्ट्र बैंकलाई जानकारी दिनुपर्नेछ ।