काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । बिहीवार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड भएको बैंकले जानकारी दिएको छ । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्त्याएको नयाँ नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको बताइएको छ ।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेको बताइएको छ । यो वर्षको अवार्डसँगै बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२’ अन्तर्गत ‘बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो । बैंकले अहिलेसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक अवार्ड २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको जानकारी दिएको छ ।