काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयर आगामी चैत २० गतेपछि कारोबारयोग्य हुने भएको छ ।
कम्पनीको संस्थापक तर्फको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३१ लाख २३ हजार २०० कित्ता र कर्मचारीतर्फको ९३ हजार ७५० कित्ता शेयरको लकइन फागुन २० गतेपछि सकिने भएको हो । यी शेयर विगत तीन वर्षदेखि लकइनमा रहेको थियो ।
सर्वसाधारण लगानीकर्तामा कम्पनीले २०७८ चैत २० गते आईपीओ बाँडफाँट गरेको थियो । सर्वसाधारण लगानीकर्तामा बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्म यी शेयर विक्री गर्न नपाइने व्यवस्था बमोजिम लकइनमा रहेको थियो ।
लकइन अवधि सकिन एक महीनाअगावै शेयरधनीहरूलाई सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्ने व्यवस्था बमोजिम कम्पनीले फागुन १८ गते सूचना जारी गरेको हो ।
यी शेयरको लकइन अवधि सकिए पनि कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव वा व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्षरूपमा संलग्न व्यक्तिले भने आफ्नो पद वहाल रहँदाको बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म आफ्नो वा आफ्नो परिवारको नाममा खरीद विक्री गर्न पाउने छैनन् ।