काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चौथो वार्षिक साधारणसभा असार २९ गते गर्ने भएको छ । जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं, थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा उक्त दिन बिहान ११ बजे शभा शुरु गर्ने जानकारी दिएको हो ।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक समितिको निर्वाचन गर्नेछ । साथै सभाले १ जना स्वतन्त्र सञ्चालक नियुक्ति पनि गर्नेछ ।
त्यस्तै सभाले सञ्चालकको कार्यकाल ४ वर्षको राख्नका लागि नियमावलीका नियमहरूमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १५ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछन् ।