काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनसपछिको शेयर मूल्य तोकेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ दशमलव ७५ प्रतिशत बोनस शेयरपछिको मूल्य चैत १४ गते कायम अन्तिम मूल्य १ हजार ४२४ रुपैयाँ ९३ पैसाका आधारमा तोकेको हो । कम्पनीको बोनस शेयरपछिको मूल्य प्रतिकित्ता १ हजार ३४७ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि चैत २७ गते कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
मूल्य समायोजनपछि कारोबार गर्ने लगानीकर्ताहरूले कम्पनीको लाभांश प्राप्त गर्ने छैनन् । अघिल्ला दुई आर्थिक वर्षभन्दा कम्पनीले बढी लाभांश यो वर्ष वितरण गर्न लागेको हो । बोनस शेयर वितरणपछि कायम चुक्तापूँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँका आधारमा १०७ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि कम्पनीले गरेको छ । कम्पनीले १ बराबर १ दशमलव १०७१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।