काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष ०७९/८० मा लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष ०७५/७६ देखि लाभांश वितरण गर्न शुरु गरेको कम्पनीले हालसम्म एक आर्थिक वर्ष मात्र लगानीकर्ताको हात खाली बनाएको देखिन्छ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी १४ करोड ६१ लाख ३८ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गर्न लागेको हो । यसअघिका वर्षहरूमा कम्पनीले २० प्रतिशतभन्दा माथि अधिकतम ३४ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।