साउन २२, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ७ करोड ९ लाख रहेको छ ।
कम्पनीले आर्जन गरेको मुनाफाबाट एनएफआरएस प्रणाली अनुसार विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । कम्पनीले गत आवको चौथो त्रैमास सम्ममा रू. १८ करोड ८५ लाख नाफा कमाएको छ ।
अघिल्लो आवको तुलनामा गुडविल फाइनान्सको नाफा २ दशमलव ९३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. १८ करोड ३१ लाख नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. ६ करोड ६९ लाख रहेकोमा गत आवमा बढेर रू. २६ करोड ३४ लाख पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ९४ करोड ६१ लाख पुगेको छ भने गत आवको चौथो त्रैमास सम्ममा जगेडामा रू. ९१ करोड ७७ लाख, रिटेण्ड अर्निङमा रू. ८ करोड ५० लाख र शेयर प्रिमियममा रू. २४ लाख ७५ हजार सञ्चित गरिएको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ ।
अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव १२ रहेकोमा गत आवमा घटेर रू. १९ दशमलव ९३ मा झरेको छ । त्यसैगरी गत आवमा कम्पनीको तरलता अनुपात २४ दशमलव ६६ प्रतिशत, मूल्य आम्दानी अनुपात २५ दशमलव ०४ र प्रतिशेयर नेटवर्थ रू. २०६ दशमलव २६ रहेको छ ।