काठमाडौं । गुगलले दुनियाँ अचम्भित पार्ने शक्तिशाली नयाँ चिप सार्वजनिक गरेको छ । जुन हालका शक्तिशाली कम्प्युटरको तुलनामा कयौँ गुणा शक्तिशाली छ । गुगलका अनुसार अहिलेको सबैभन्दा छिटो काम गर्ने सुपर कम्प्युटरले गर्न १० सेप्टिलियन ( १०,०००,०००,०००,०००,०००,०००) वर्ष लाग्ने काम नयाँ चिप जडित कम्प्युटरले ५ मिनेटमा गर्नसक्ने दाबी गरिएको छ ।
यो चिप क्वांटम कम्प्युटिङका क्षेत्रमा नयाँ विकास हो ।नयाँ क्वांटम चिप "विलो" लाई प्रमुख सफलता भएको तथा ठूलो स्तरको क्वांटम कम्प्युटर निर्माण र प्रयोगको मार्ग खोलेको गुगलको दाबी छ । तर, विज्ञहरूले विलो अहिलेको लागि एक प्रायोगिक उपकरण मात्रै भएको भनेका छन् । जसको अर्थ एक यस्तो क्वांटम कम्प्युटर जसले वास्तविक संसारका समस्याहरू समाधान गर्न पर्याप्त सक्षम र शक्तिशाली हुनेछ तर त्यो अझै वर्षौं अवधि र अर्बौं डलर टाढाको विषय हो ।
क्वांटम कम्प्युटरहरू हाम्रो फोन वा ल्यापटपमा रहेको कम्प्युटरको तुलनामा एकदमै भिन्न तरिकाले काम गर्छन् । यी क्वांटम यान्त्रिकीकरणमा अत्यन्त स-साना कणहरूको प्रतिक्रियाबाट काम गर्छन् जुन परम्परागत कम्प्युटरहरू भन्दा धेरै छिटो समस्या समाधान गर्न सक्षम छन् ।
क्वांटम कम्प्युटरहरूले नयाँ औषधिहरू बनाउने जस्ता जटिल भन्दा जटिल प्रक्रियाहरूलाई तीब्र गतिमा अघि बढाउन सक्षम हुने आशा गरिएको छ । तर यसको गलत प्रयोग पनि हुनसक्ने डर कायमै रहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यतिमात्रै नभइ संवेदनशील डाटालाई सुरक्षा गर्न प्रयोग हुने इन्क्रिप्शनलाई भंग गर्नका लागि प्रयोग हुने खतरा रहेको उनीहरूले औंल्याएका छन् ।
फेब्रुअरीमा एप्पलले आइ-म्यासेज च्याटहरूको सुरक्षा गर्ने इन्क्रिप्शनलाई "क्वांटम प्रमाणित" गरिने घोषणा गरेको थियो । भविष्यमा शक्तिशाली क्वांटम कम्प्युटरहरूले पनि ती च्याटहरू पढ्न नसकून् भन्ने उसको योजना थियो । तर गुगलले विकसित गर्न लागेको यो क्वांटम चिप्स त्यस्ता च्याट पढ्न सक्षम हुने खतरा समेत रहेको बताइएको छ ।
क्वांटम एआई प्रयोगशाला नेतृत्व गरिरहेका हर्टमुट नेभेन गुगलको 'विलो' परियोजनाबाट धेरै आशावादी भएको बताएका छन् । उनले विलो केही व्यावहारिक अनुप्रयोगहरूमा प्रयोग गरिने बताएका छन्, तर अहिलेका लागि थप जानकारी दिन भने अस्वीकार गरे । उनले यो दशकमा देख्न भने नपाइने संकेत पनि गरेका छन् ।
क्वांटम कम्प्युटरहरूले विभिन्न कार्यहरूमा सहयोग पुर्याउनेछन् । जस्तै लजिस्टिक समस्याहरू समाधान गर्न, विमानमा कार्गो ढुवानी र वितरण, टेलिकम सिग्नलहरूको मार्गनिर्देशन गर्न सक्षम हुनेछन् । "यदी यो परियोजना सफल भए आणविक फ्युजन रिएक्टरहरूको डिजाइन गर्न, औषधिको कार्यसम्पादन बुझ्न, औषधि र फार्मास्युटिकल विकास, कारका ब्याट्रीहरू विकास गर्न लगायत यस्ता अन्य धेरै कार्यहरूको लागि यो महत्त्वपूर्ण हुनेछ," उनले भनेका छन् । नेभेनका अनुसार विलो परियोजनाले आजसम्मको सबैभन्दा राम्रो क्वांटम प्रोसेसर बनाउने बताएका छन्।
सुरी विश्वविद्यालयका कम्प्युटिङ विशेषज्ञ प्रोफेसर एलन वुडवर्डका अनुसार क्वांटम कम्प्युटरहरू वर्तमान "क्लासिकल" कम्प्युटरहरू भन्दा धेरै कार्यमा राम्रो हुने बताएका छन् । तर, तिनीहरूको स्थान भने लिने छैनन् । उनले यसलाइ सुन्तला र स्याउको तुलना नगर्न भनेका छन् । यसले "क्लासिकल कम्प्युटरहरूको तुलनामा तिब्र गति प्रदर्शन गरेको छ । विलोले महत्त्वपूर्ण प्रगति देखाएको भएपनि उनले यसलाई "त्रुटि सुधार" मात्र भनेका छन्।
क्वांटम कम्प्युटरको उपयोगिता वृद्धि गर्दा यसको क्विबिटहरूको संख्या बढ्छ । तर गूगलका शोधकर्ताहरूले यसलाई उल्ट्याउन सफल भएको दाबी गरेका छन् । नयाँ चिपको इन्जिनियरिङ र प्रोग्राम समग्र प्रणालीमा त्रुटिको दर घटाउन सक्षम भएको बताएको छ ।
यो एक प्रमुख सफलता भएको भन्दै यस क्षेत्रमा लगभग ३० वर्ष सम्म पछ्याएको चुनौतीहरूलाई समाधान गरेको नेभेनको विश्वास छ । "यदि तपाईंको विमानमा एक मात्र इन्जिन छ भने पनि उड्ने छ, तर दुई इन्जिनहरू भए सुरक्षित, चार इन्जिनहरू भए अझ सुरक्षित हुन्छ,"उनले भनेका छन् ।
जति शक्तिशाली क्वांटम कम्प्युटरहरू बनायो त्यतिनै धेरै त्रुटी रहने भएपनि यसको विकास "प्रायोगिक क्वांटम कम्प्युटर बनाउनका लागि सबैलाई उत्साहजनक हुने प्रोफेसर वुडवर्डले भनेका छन् । तर व्यावहारिक रूपमा उपयोगी क्वांटम कम्प्युटरहरू विकास गर्नको लागि त्रुटि दर अझै विलोले देखाएको भन्दा धेरै कम हुन आवश्यक हुने गुगलले आफैं भनेको छ ।
विलो गुगलको नयाँ र विशेष रूपमा बनाइएको उत्पादन हो जुन क्यालिफोर्नियाको कारखानमा निर्माण गरिएको छ। जसमा विश्वका धरै देशहरू क्वांटम कम्प्युटिङमा लगानी गर्दैछन्। हालै बेलायतको नेशनल क्वांटम कम्प्युटिङ केन्द्र (NQCC)पनि जोडिएको छ । यसका निर्देशक मायकल कुथबर्टले विलोलाई एक माइलस्टोन भनेका छन् । बेलायतमा पहिले नै ५० भन्दा बढी क्वांटम व्यवसायहरू छन् जसले ८०० मिलियन पाउण्डको लगानी आकर्षित गरेको छन् भने १३०० जनालाई रोजगार दिएका छन् । एजेन्सीको सहयोगमा ।