काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।
सभामा बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाले बैंकले आफ्ना सेवा सुविधामा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाको माध्यमबाट ग्राहक समक्ष आफ्ना गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको बताए । उनले बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्घतिको विकास गर्ने उद्देश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिमा समय सापेक्ष परिमार्जन गर्दै आएको बताए । बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
सभामा बैंकका शेयरधनी अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनीको उपस्थिति थियो ।
सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशील घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायव प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल र रामकुमार थापाको उपस्थिति थियो ।