काठमाडौं । ग्वार्को फ्लाइओभर निर्माणका क्रममा जमीन भासिएर पर्खालमा केही खाली स्थान (ग्याप) भएपछि पुन: काम शुरू भएको छ ।
भासिएको ठाउँमा पुन: काम गर्नुपर्दा समय लम्बिने देखिएको छ । ठेक्का लागेअनुसार नियमित रूपमा काम भइरहेको भए यो फ्लाइओभर २०८० फागुन ११ गतेसम्ममा सम्पन्न हुने थियो । तर, समयमै काम नभएपछि सरकारले एक वर्षको म्याद थपिदिएको थियो । त्यसअनुसार २०८१ पुस ८ गते यो फ्लाइओभर सम्पन्न हुनुपर्ने थियो । तर नसकिएपछि पुस ९ गतेदेखि ठेकेदार कम्पनीले दैनिक ८५ हजार रुपैयाँ जरीवाना तिरेर काम गर्दै आएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले जानकारी दिए ।
उनका अनुसार यो फ्लाइओभर निर्माणमा व्यवसायीकै डिजाइन, निर्माण, सञ्चालन मोडालिटी भएकाले निर्माण व्यवसायी नै जिम्मेवारी हुन्छन् । एकपटक म्याद थपेर पनि हालसम्म सम्पन्न नभएको उक्त फ्लाइओभरमा पहिलादेखि नै जमीन भासिएको थियो । बाराहीका अनुसार जमीन भासिँदा ओभरपासको सातदोबाटोतर्फ राखिएको ४० मिटर दूरीमा पर्खालको प्यानलमा खाली ठाउँ देखिएको थियो ।
‘अहिले खाली ठाउँ देखिएको खण्डको मात्र प्यानल निकालेर मिलाइएको छ,’ उनले भने, ‘पहिला जमीन भासिएर पर्खालमा ग्याप थियो, त्यसलाई धेरै समयसम्म निगरानीमा राखिएका थियौं, किनभने वालको प्यानल ननिकाली काम हुन्छ कि भन्ने थियो ।’
तर, सम्भव नभएपछि अहिले जमीनलाई नभासिने बनाई काम शुरू भइसकेको छ । जमीनमुनि पाइलिङ गरेर निर्माण व्यवसायीले काम शुरू गरेका छन् । निर्माण व्यवसायीले वैशाखसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको बाराहीको भनाइ छ ।
उक्त फ्लाइओभरको ठेक्का २०७८ फागुन १२ गते लागेको थियो । ठेक्काको रकम १७ करोड ६ लाख ८८ हजार रुपैयाँ थियो । आशिष–समानन्तर–रेलिगेरको संयुक्त उपक्रममार्फत इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन मोडलमा काम हुँदै छ ।